
दमक / कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा १६ दिनकी सुत्केरी १९ वर्षीया तुलसी नाथको हत्या गरेको आरोपमा देवर २० वर्षीय नवीन नाथलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार जेठ २० गते बिहान तुलसी मृत अवस्थामा फेला परेकी थिइन्। १६ दिनअघि मात्र उनले छोरालाई जन्म दिएकी थिइन्।

तुलसीको मृत्यु प्रारम्भिक रूपमा सर्पदंश वा नालामा लडेको जस्ता कारण हुनसक्ने अनुमान गरिएको थियो। तर उनको कानबाट ८ वटा सुनका मुन्द्रा हराएको देखिएपछि प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको थियो।



इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रणबहादुर चन्दका अनुसार नवीनले प्रहरी समक्ष हत्या स्वीकार गरेका छन्। उनका अनुसार घटनाको दिन नवीनका बुवा–आमा पुर्ख्यौली घर अछाम गएका थिए। घरमा नवीन, उनकी श्रीमती, बहिनी र सुत्केरी भाउजू मात्रै थिए। प्रहरी अनुसन्धान अनुसार नवीन, उनकी श्रीमती र बहिनी एउटै कोठामा सुतेका थिए। श्रीमती र बहिनी गहिरो निद्रामा रहेको थाहा पाएपछि नवीन राति सुटुक्क भाउजूको कोठामा पसेर उनको हत्या गरेका थिए। हत्या गरेपछि उनले तुलसीको कानमा रहेका सुनका मुन्द्राहरू चक्कुको सहायताले झिकेका थिए। त्यसपछि पोते पनि झिकेर साथमा राखेका थिए।

हत्या गरेपछि शव व्यवस्थापनमा लागेका नवीनले तुलसीको शव घरदेखि झण्डै ८ सय मिटर टाढा फालिदिएका थिए। उनले घटनालाई दुर्घटनाका रूपमा प्रस्तुत गर्न खोजेको प्रहरीको भनाइ छ। हत्या अनुसन्धानमा प्रहरीले सूक्ष्म निगरानी अपनाएको थियो। नवीन आफै प्रहरी अनुसन्धानमा सहयोग गरेझैं देखिए पनि उनको व्यवहार, मानसिक अवस्था, र उनको बेचैनीप्रति प्रहरीले ध्यान दिएको थियो। तुलसीका गहना नपाएपछि प्रहरीले नवीनमाथि निगरानी बढाएको थियो।
अन्ततः नवीनले गहना राखेको ठाउँ प्रहरीलाई देखाएका थिए। घरभन्दा केही पर ढुंगाले च्यापेर राखिएका सुनका गरगहना फेला परेको डिएसपी चन्दले जानकारी दिए। तुलसीका श्रीमान् भारतमा रोजगारीमा छन् भने नवीन पनि चैतमा बिरामी भएर भारतबाट फर्किएका थिए। बेरोजगारी अवस्थामा रहेका उनले खर्चको लागि तुलसीसँग पैसा माग्दै आएका थिए। प्रहरीलाई दिएको बयानमा नवीनले पैसा नदिएको र उल्टै वचन लगाएको भन्दै रिसको कारण हत्या गरेको बताएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।