राजसंस्थाको पक्षमा आजपनि आन्दोलन जारी , जनताको उल्लेख्य सहभागिता

काठमाडौँ, जेठ १५ – राजसंस्था पुनर्स्थापनाको माग गर्दै बिहीबारदेखि सुरु गरिएको अनिश्चितकालीन आन्दोलनमा आजपनि उल्लेख्य संख्यामा जनताको उपस्थिति रहेको छ। शुक्रबार माइतीघर मण्डलामा भएको आन्दोलनमा सहभागी जनसमुदायको उत्साह र जोश झनै बढेको देखिन्थ्यो।

शान्तिबाटिकाबाट सुरु भएको आन्दोलन माइतीघरमा पुगेपछि स्थानीय बासिन्दा र सर्वसाधारण पनि आन्दोलनको समर्थनमा जुटेका थिए। उनीहरूले राष्ट्रिय झण्डा र राजसंस्थाको समर्थन जनाउने ब्यानर लिएर सडकमा नारा लगाएका थिए।

बिज्ञापन

आजपनि आन्दोलनको निरन्तरतामा जनताको बलियो समर्थन देखाएको छ। आन्दोलनमा सहभागीहरुले “राजसंस्था पुनर्स्थापना हाम्रो चाहना हो” भन्ने नारासहित प्रदर्शन गरेका थिए।

राजसंस्थाको पुनर्स्थापनाका लागि आन्दोलन गरिरहेका नेताहरूले जनताको सहभागितालाई आन्दोलनको मुख्य आधारको रूपमा व्याख्या गरेका छन्। उनीहरूले भने, “जनताको उत्साह हाम्रो लागि ठूलो शक्ति हो। जबसम्म जनताको चाहना पूरा हुँदैन, हाम्रो आन्दोलन जारी रहनेछ।”

यसैबीच, आन्दोलनको क्रममा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ। आन्दोलन अहिलेसम्म शान्तिपूर्ण रहेको प्रहरीले जनाएको छ। माइतीघरदेखि बबरमहलसम्मको सडक केही समयका लागि अस्तव्यस्त भए पनि, आन्दोलनको शान्तिपूर्ण प्रकृतिका कारण ठूलो समस्या नभएको प्रहरी स्रोतको भनाइ छ।