
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले साक्षर नेपाल अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले यस्तो बताउनु भएको हो । उहाँले अन्तर्राष्ट्रियस्तरमा गरेको शिक्षासम्बन्धी लक्ष्यलाई हासिल गर्न साक्षर नेपाल अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने पनि उल्लेख गर्नुभएको छ ।

सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व भएको उल्लेख गर्दै उहाँले लेख्नुभएको छ, “साक्षर नेपाल अभियानलाई प्रभावकारी बनाउन र सबै जिल्लालाई जतिसक्दो छिटो साक्षर घोषणा गर्न सबैको सहकार्य, सहयोग र समन्वयात्मक प्रयास आवश्यक छ ।”



प्रधानमन्त्री देउवाले सरकार निजी क्षेत्र, सामाजिक संघ संस्थाको विभिन्न प्रयासको बाबजुद अझै एक तिहाइ जनता निरक्षर अवस्थामा रहेकाले साक्षरता अभियानलाई अझै प्रभावकारी रूपमा निरन्तर अघि बढाउन आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

शिक्षालाई आम नागरिकको पहुँचमा पुर्याउन सामुदायिक शिक्षा प्रणालीलाई प्रभावकारी तवरले अघि बढाउनुपर्ने प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभएको छ । गुणस्तरीय, जीवनोपयोगी, व्यावसायिक र प्राविधिक शिक्षाको प्रवर्द्धन गर्दै देशको समग्र विकासका लागि आवश्यक जनशक्ति देशभित्रै उत्पादन गर्न जोड दिनुपर्ने स्थिति रहेको अहिले रहेको पनि उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।
शिक्षाको बहुआयामिक महत्वलाई आत्मसात् गर्दै नेपालको संविधानले शिक्षालाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको उहाँले स्मरण गर्नुभएको छ ।
दिवसका अवसरमा प्रधानमन्त्री देउवाले सम्पूर्ण नेपाली विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीलगायत सबैलाई शुभकामना पनि दिनुभएको छ ।