गठबन्धनले जनतालाई धोका दिएको एमाले नेता बास्कोटाको भनाई

काठमाण्डौ। गठबन्धनले प्रधानमन्त्रीको उम्मेदवारको टुंगो नगरी चुनावमा जाने कुरालाई नेकपा एमालेका नेता गोकुल बास्कोटाले जनतामाथीको धोका भनेका छन् ।

प्रधानमन्त्रीको उम्मेदवार तय नगरेर गठबन्धन दलहरुले मूल्यको राजनीति नगरेको पुष्टि भएको पनि उनले बताएका छन्। प्रधानमन्त्री को हो भन्ने कुरा तय गर्न नसक्नुले उनीहरु एमालेसँग अझै डराएको पुष्टि भएको पनि बास्कोटाले बताए ।

बिज्ञापन

उनले भने, कांग्रेससँग त एक्लै लड्ने हिम्मत नै छैन। माओवादीको कुरै नगरौँ, झन् डराएको छ, उनले भने, उनीहरुको उम्मेदवार पपुलर नभएकाले प्रधानमन्त्रीको उम्मेदवार तय गर्न नसकेको हो।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका उनले गठबन्धनका दलहरु प्रधानमन्त्रीको उम्मेदवार तय नगरी रानोबिनाको मौरी जस्तो चुनावमा जान खोजेको प्रतिक्रिया दिएका छन्।

बास्कोटाले रानोबिनाको मौरी जस्तो खाली हात चुनावमा जान खोजेको भन्दै जनताले कसको नेतृत्वमा चल्छ भन्ने थाहा नपाइ कसरी मतदान गर्ने भनेर प्रश्न गरेका छन् । उनले गठबन्धनले जनतालाई गुमराहमा राखेर चुनावमा जान खोजे बताएका छन् ।