
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार अखिल भारत फुटबल संघ (एआइएफएफ) माथिको निलम्बन फकुवा गरेको छ । सन् २०२० मा हुनुपर्ने निर्वाचन १८ महिनासम्म नगरेपछि भारतको सर्वोच्च अदालतले तत्कालिन अध्यक्ष प्रफुल पटेललाई पद

बाट हटाएको थियो । एआइएफएफको जिम्मेवारी तीन सदस्यीय कमिटिलाई दिएको थियो ।यो कमिटिलाई अदालतले एआइएफएफको निर्वाचन र नयाँ विधान लागू गर्ने जिम्मेवारी दिएको थियो । तर फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको कारण देखाउँदै एआइएफएफलाई अगस्ट १६ मा तत्काल लागू हुने गरी निलम्बन गरेको थियो ।



त्यसयता भारत फिफाको निलम्बनबाट फुकुवा हुन तिव्र रुपमा कार्य गरिरहेको थियो ।भारतको सर्वोच्च अदालतले सोमबार आफैले गठन गरेको तीन सदस्यीय कमिटिलाई खारेज गर्दै एआइएफएफ सञ्चालनको अधिकार संघका महासचिव सुनन्दो धरलाई दिइएको थियो ।

सो आदेश लगत्तै महासचिव सुनन्दोले निलम्बनका बारेमा पुनर्विचार गर्न फिफा समक्ष आग्रह गरेका थिए ।फिफाले पूर्ण रुपमा एआइएफएफले दैनिक प्रशासनिक काम आफ्नै नियन्त्रणमा लिएपछि मात्र निलम्बन फुकुवा हुने जनाएको थियो ।
एआइएफएफको चुनावी साधरणसभा सेप्टेम्बर २ मा हुँदैछ । फिफाले एआइएफएफको दैनिक गतिबिधीमा निरन्तर निरिक्षण गर्ने र चुनावमा पनि सहयोग गर्न जनाएको छ ।
निलम्बन फुकवा भएसँगै भारतले अक्टोबर ११ देखी ३० सम्म आयोजना हुने भनिएको यु १७ महिला विश्वकपको आयोजना अधिकार पुनः प्राप्त गरेको छ ।