
काठमाण्डौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा एमालेको पक्षमा जनमत आउने वातावरण बनाउन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

आज ललितपुरको च्यासलमा स्थित पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिनु भएको हो ।



उहाँले जनता अलमलमा पर्नसक्ने भन्दै उनीहरुलाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी पार्टीका नेता, कार्यकर्ताहरुको काँधमा रहेको बताउनु भयो ।

अध्यक्ष ओलीले जनमत एमालेको पक्षमा पार्ने र सो जनमतको रक्षा गर्नका लागि आवश्यक तरिका र उपायहरु अवलम्वन गर्न पनि निर्देशन दिनुभयो । सरकार कम्फरटेबलको बनेको र राष्ट्रहितलाई आघात पुगेको पनि बताउनुभयो ।
अध्यक्ष ओलीले वर्तमान गठबन्धन सरकारका क्रियाकलाप एकपछि अर्को गर्दै राष्ट्रिय हितलाई आघात पुर्याउने, बाह्य शक्तिलाई रिझाउने र छिमेकीसँगको सन्तुलन खलबल्याउन केन्द्रीत रहेको पनि बताउनुभयो ।
ओलीले निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउनका लागि प्रभावकारी भूमिका खेल्न पनि आग्रह गर्नुभएको छ । निष्पक्ष निर्वाचन गराउनका लागि सरकारलाई दबाब दिनुपर्ने र सम्बन्धित निकायलाई बेठिक काम गर्न रोक्नुपर्ने पनि उहाँको भनाई छ । जनमतलाई कसैले गलत ढंगले दुष्प्रभावित गर्न सक्ने भन्दै त्यसका निम्ति ध्यान दिन पनि ओलीले कार्यकर्तासँग आग्रह गर्नुभयो ।