आजदेखि नेपाल र बंगलादेशका प्रतिनिधिबीच ऊर्जा बैठक

नेपाल र बंगलादेशका सह–सचिवस्तरीय बैठक राजधानीमा आजदेखि सुरू भएको छ । सोमबार नेपाल आइपुगेका बंगलादेशी प्रतिनिधिहरू र नेपाली प्रतिनिधिबीच आजदेखि वार्ता सुरू हुन लागेको हो । बंगलादेशबाट नेपालीसँग ऊर्जा वार्ताका लागि सोमबार नै प्रतिनिधि काठमाडौं आइसकेका छन् । दुई दिने वार्ताका लागि नेपाल आइपुगेका टोली हिजो सुनकोसी–३ जलविद्युत आयोजना निरीक्षणका लागि रामेछाप पुगेका थिए ।आज सह–सचिवस्तरीय बैठक सम्पन्न भएपछि भोली विहीबार ऊर्जा सचिवस्तरीय बैठक सुरू हुने छ । यस बैठकले नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्य र नेपालमा उत्पादित बिजुली बंगलादेश लग्ने विषयमा छलफल हुनेछ ।बंगलादेशले नेपालबाट ५० देखि १०० मेगावाट बिजुली आयात गर्ने सहमती जनाइसकेको छ । तर, भारतको बाटो हुँदै लग्नुपर्ने भएकाले बंगलादेशी पक्षले भारतसँग बिजुली आयातका लागि अनुमति माग गर्दै दिएको निवेदन अलपत्र परेपछि बिजुली निर्यात हुन सकेको छैन ।

यसैगरी, ६८३ मेगावाट क्षमताको सुनकोसी–३ आयोजना नेपाल र बंगलादेश मिलेर बनाउन बंगलादेशी पक्ष तयार देखिएको छ । यस्तै, वार्तामा भारतको बाटो हुँदै कसरी बंगलादेश सम्म बिजुली लग्न सकिन्छ भन्ने विकल्पमा समेत छलफल हुने ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

यतिबेला बंगलादेश चरम बिजुली संकटमा छन् । डिजेल, कोइला र प्राकृतिक ग्यासबाट बिजुली उत्पादन गर्दै आइरहेको बंगलादेशमा चरम बिजुली संकट परेको हो । खासगरी, अन्तर्राष्ट्रिय बजारमा यी तीनै वस्तुको मूल्य कीर्तिमानी दरमा बढेपछि बंगलादेश संकटमा फसेको हो ।

यससँगै, बंगलादेश सरकारले विद्यालय सातामा दुई दिन विदा गर्ने निर्णय गरिसकेको छ । यस्तै, ऊर्जाको संकट टार्न सरकारी कार्यालय बैंकहरूको कार्यावधि १ घन्टा घटाउने र दैनिक २ घण्टासम्म लोडसेडिङ गर्ने निर्णय बंगलादेश सरकारले गरेको छ ।