बन्द हुने अवस्थामा हेटौँडा सिमेन्ट उद्योग, ४ वर्षमा ६५ करोडभन्दा बढी घाटा

हेटौँडा । हेटौँडा उपमहानगरपालिका– ९ को लामसुरेस्थित सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग पनि हेटौँडा कपडा उद्योग जसरी नै बन्द हुने हो कि भन्ने आशङ्का बढेको छ। हेटौँडामै रहेको सरकारी कपडा उद्योग २० वर्षअघि राजनीतिक हस्तक्षेप र कमजोर व्यवस्थापनका कारण तत्कालीन सरकारले बन्द गरेको थियो ।

हालसम्म जसोतसो चलिरहेको हेटौँडा सिमेन्ट उद्योगले पछिल्ला वर्षहरूमा सरकारको बेवास्ता र कमजोर व्यवस्थापनका कारण बर्सेनि क्षमताअनुसारको उत्पादन गर्न नसकेको र उद्योगलाई करोडौँ रुपैयाँ घाटा बढ्दै गएको अवस्थामा उद्योग बन्द हुने हो कि भन्ने आशङ्का बढेको हो।

बिज्ञापन

हेटौँडा सिमेन्टले उत्पादन थालेको वर्ष २०४२ सालदेखि नै लगातार घाटामा गएको थियो । तर, आर्थिक वर्ष २०७१/०७२ पछिका पछिल्ला ४ वर्षमा भने लगातार नाफा कमाएको थियो। सधैँ घाटामा चलिरहेको उद्योग खुद नाफामा जाँदा सरकारी उद्योगमा केही आशा पलाएको थियो तर त्यो आशा ४ वर्ष मात्र टिक्यो ।

उद्योगले आर्थिक वर्ष २०७१/०७२ मा पहिलो पटक ५ करोड रुपैयाँ नाफा कमाएको थियो । त्यसको दोस्रो वर्ष ४ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो भने तेस्रो पटक आर्थिक वर्ष २०७३/०७४ मा यसको नाफा ह्वात्तै बढेर १५ करोड ४९ लाख रुपैयाा पुग्यो ।

त्यसको चौथो वर्ष २०७४/०७५ मा १६ करोड ३६ लाख रुपैयाँसम्म नाफा कमायो । तर, यो नाफाको उत्साह लामो समय टिक्न सकेन । त्यसपछिका वर्षहरूमा यो उद्योग फेरि घाटाको पुरानै बाटोमा फर्कियो । अर्थात् त्यसपछिका पछिल्ला ४ आर्थिक वर्षमा हेटौँडा सिमेन्ट उद्योगले ६५ करोड रुपैयाँभन्दा बढी घाटा बेहोरेको छ ।

उद्योगले २०७५/०७६ देखि २०७८/०७९ सम्ममा ६५ करोड ४७ लाख १६ हजार ७८२ रुपैयाँ घाटा बेहोरेको हेटौँडा सिमेन्ट उद्योगको तथ्याङ्क छ । उद्योगको २ लाख ६० हजार मेट्रिक टन उत्पादन क्षमता भए पनि आर्थिक वर्ष २०७५/०७६ मा उद्योगले १ लाख ९६९ मेट्रिक टन सिमेन्ट उत्पादन गर्न सफल भयो तर क्षमताको आधा पनि उत्पादन हुन सकेन ।

उक्त वर्ष उत्पादित सिमेन्ट बिक्री गर्दा र खर्च कटाउँदा उद्योगलाई १ करोड ५ लाख ४१ हजार १३६ रुपैयाँ घाटा लाग्यो।त्यसपछि उद्योगलाई अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७६/०७७ मा करिब २३ गुणा बढी घाटा लाग्यो भने सिमेन्ट उत्पादन पनि घटेको देखिन्छ। ८१ हजार ९८९ मेट्रिक टन सिमेन्ट उत्पादन भएको उक्त वर्ष उद्योगलाई थप २३ करोड ८२ लाख २४ हजार ८ रुपैयाँ घाटा लाग्यो।

उद्योगलाई घाटा लाग्ने क्रम रोकिएन । आर्थिक वर्ष २०७७/०७८ मा उद्योगले ८९ हजार २२५ मेट्रिक टन सिमेन्ट उत्पादन गर्दा उक्त वर्ष पनि उद्योगलाई थप १७ करोड ४ लाख ४० हजार ६६९ रुपैयाँ घाटा लागेको छ।

गएको आर्थिक वर्ष २०७८/०७९ मा पनि उद्योगले थप २३ करोड ५५ लाख १० हजार ९६९ रुपैयाँ घाटा बेहोरेको छ। गएको वर्ष उद्योगले ८५ हजार २५६ मेट्रिक टन सिमेन्ट उत्पादन गरेको छ, जुन तथ्याङ्क २०७७ सालको भन्दा ३ हजार ९६९ कम उत्पादन हो । सिमेन्ट उद्योगको क्षमता र भइरहेको उत्पादन र नाफा/नोक्सान केलाउने हो भने उद्योगले बर्सेनि निरन्तर कम उत्पादन र करोडौँ रुपैयाँ घाटा बेहोरिरहेको देखिन्छ ।

हालै उद्योगले आर्थिक अभावका कारण उद्योगी, व्यवसायीलाई कोइलाको भुक्तानी दिन पनि नसकेपछि कोइला आयातसमेत रोकिएको थियो। उद्योगले केही सातामै भुक्तानी गर्ने जनाएपछि कोइला आएको र उक्त कोइलाको परीक्षण भइरहेको उद्योगले जनाएको छ ।

उद्योगको जीर्ण पुरानो मेसिन र मेसिन बिग्रिरहने समस्याकोकारण लक्ष्यअनुसारको उत्पादन हुन नसकेको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डे बताउँछन्। महाप्रबन्धक पाण्डेले क्षमताअनुसार उत्पादन गर्न नसक्नु र कमजोर व्यवस्थापनका कारण हालसम्म उद्योग घाटामा गएको हुन सक्ने बताए ।

‘म महाप्रबन्धक भएर आएको साढे ३ महिना भयो । आउँदा उद्योगमा कोइलाको अभाव रहेको पाएँ। उधारो धेरै भएका कारण कोइला रोकिएको रहेछ । जसोतसो गरेर कोइला ल्याउने वातावरणसमेत मिलाएँ’, द नेपालटपसँग कुरा गर्दै पाण्डेले भने, ‘म आएकै दिनबाट उद्योगलाई कसरी कम खर्च गर्ने र उत्पादनलाई बढाउने भन्ने सोच बनाइरहेको छु ।’

उनले उत्पादन लागत बढी हुने र अन्य सिमेन्टको बजार मूल्यसँग प्रतिस्पर्धा गर्नुपर्ने हुँदा लागत मूल्य उठ्न पनि नसकेको बताए। ‘म सुरुदेखि उत्पादन लागत घटनाउने पक्षमा छु। त्यसका लागि सामान्यभन्दा सामान्य कुरामा पनि कम खर्च गरेर धेरै उत्पादन गर्ने लक्ष्य हो मेरो । त्यसका लागि केही स्किमहरू बनाएको छु। मैले आउनेबित्तिकै एउटा विज्ञको टिम बनाएको छु’, उनले भने, ‘तुरुन्त सर्ट टर्ममा के गर्न सकिन्छ, मिडियम टर्म र लङ टर्ममा के गर्न सकिन्छ ? रिपोर्ट छ मसँग। त्यो रिपोर्ट कार्यान्यन गर्ने क्रममा छु । कसरी हुन्छ, लागत कम गर्ने गरी काम गरिरहको छु ।’

उनले उद्योगको खानीसमेत फुत्कने अवस्था रहेकामा आफू आएपछि त्यसलाई संरक्षण गर्न सफल भएको दाबी गरे। उनले उद्योगका मेसिनहरू पुराना भएका कारण पटकपटक बिग्रिरहने समस्या भएको पाइएको बताए । उनले भने, ‘पटकपटक ब्रेकडाउन हुने। आज एक ठाउँमा बनायो, अर्को ठाउँमा बिग्रने । अर्को ठाउँमा बनायो, अर्को ठाउँमा बिग्रन्छ। त्यसपछि कन्टिन्यु प्लान्ट चल्दैन ।’

उनले केही साताअघि उद्योगमन्त्री आएको समयमा उद्योगको अवस्थाका बारेमा पनि जानकारी गराएको बताए। उनले नयाँ तरिकाले उद्योगलाई अघि बढाउने गरी काम गर्न लागिपरेको दाबी पनि गरे। सबै कर्मचारीहरूले आ–आफ्नो जिम्मेवारी पूरा गरेको अवस्थामा ३ वर्षमा सिमेन्ट उद्योग नाफा कमाउन सफल हुने पाण्डेको विश्वास छ।

एसियाली विकास बैंकको सहयोगमा सरकारले १३ असोज २०३३ मा हेटौँडा सिमेन्ट उद्योगको स्थापना गरेको थियो। उद्योगले २०४२ सालदेखि उत्पादन सुरु गरेको थियो।

स्वदेशी कच्चा पदार्थको प्रयोग गर्ने, गुणस्तरीय निर्माण सामग्री (सिमेन्ट) उत्पादन तथा बिक्री गर्ने, रोजगारीका अवसरहरूको सिर्जना गर्ने, सिमेन्ट तथा क्लिंकरको आयात प्रतिस्थापन गर्ने, कर तथा गैरकर राजस्वमा योगदान पु¥याउने उद्योगको उद्देश्य थियो । उद्योगमा दरबन्दी ६५५ जनाको भए पनि हाल २२४ जना मात्र कार्यरत रहेका छन् ।