मङ्सिर ४ गतेको लागि चापमा काम गर्नुपर्छ : निर्वाचन आयोग

सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । सो दिन चुनावको मिति तोकिए निकै चापमा काम गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते गर्ने गरी घोषणा गर्ने तयारी गरेको छ । यसबारेमा सत्ता गठबन्धन दलबीच सहमति समेत जुटिसकेको छ । निर्वाचन आयोगका लागि चुनावको तयारी गर्न सामान्यतया १ सय २० दिनको समय लाग्ने बताउँदै आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मङ्सिर ४ गतेका लागि चुनावको मिति तोकिए निकै चापमा काम गर्नुपर्ने बताएका छन् ।

बिज्ञापन

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले रातोपाटीसँग भने–‘यदि मङ्सिर ४ गतेका लागि चुनाव गर्ने मिति घोषणा भयो भने काम गर्न आयोगलाई त्यति सहज भने हुँदैन समयको चापका बीच काम गर्नुपर्छ । त्यस्तो अवस्थामा विभिन्न कामको प्रक्रिया छोट्याएर काम गर्नुपर्छ । आयोगलाई चुनावको तयारी गर्न वैज्ञानिक तरिकाले १ सय २० दिनको समय दिइएको हो । खरिद प्रक्रियादेखि काम गर्ने अन्य प्रक्रियालाई केही घटाएर काम गर्नुपर्ने हुन्छ ।’

मङ्सिरको पहिलो सातापछि चुनावको मिति घोषणा भए हिमाली क्षेत्रमा हिउँ पर्ने सिजन सुरु हुने भएकोले चुनाव गराउन कठिन हुने उनले बताए । मङ्सिर ४ गते समय तोकिए छोटो समयमा विभिन्न प्रक्रिया छोट्याएर काम गरेर चुनाव गर्न सकिने उनले बताए । बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकबाट चुनावको मिति घोषणा हुने सम्भावना रहेको छ ।

निर्वाचनका लागि नयाँ दल दर्ता कार्य नरोकिने

निर्वाचन आयोगले आगामी निर्वाचनमा सहभागी हुने गरी नयाँ दल दर्ताको प्रक्रियालाई पनि जारी राख्ने भएको छ । सामान्यतया निर्वाचनको मिति तोकिनुभन्दा अगाडि दल दर्ता भइसकेको हुनुपर्ने प्रचलन भए पनि निर्वाचनमा भाग लिनका लागि नयाँ दल दर्ता रोक्ने काम भने नहुने उनले बताए ।

जुनसुकै बेला संघ संस्था दर्ता गर्न सकिने कानुनी व्यवस्था अनुसार निर्वाचनको मिति घोषणापछि पनि निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि दल दर्ता गर्न सकिने कानुनी व्यवस्था रहेको सहप्रवक्ता अर्यालले बताए ।

निर्वाचनको मिति घोषणा अगाडि नै दल दर्ता भइसक्नुपर्ने भनिए पनि अयोगलाई आवश्यक कागजपत्र बुझाएर प्रेसर दिएर तीन–चार दिनभित्र दल दर्ता गर्न सकिने कानुनी छिद्र रहेका कारण त्यसरी पनि दल दर्ता हुने परिपाटी देखिएको उनले बताए ।

उनले भने–‘आयोगले निर्वाचन प्रक्रियाका लागि दल दर्ता गर्न आह्वान गरेको तीन–चार दिनपछि दर्ता हुन आएर, तीन चार दिनमा दर्ताको सङ्केत लिएर आयोगलाई आय व्ययको सामान्य कारोबार देखाइदिएर निर्वाचनमा भाग लिन सक्ने स्थिति हाम्रो कानुनको छिद्रमा रहेछ ।’ संविधान र कानुनको आशय चुनाव घोषणापछि नयाँ दल दर्ता नगर्ने भन्ने नरहेको उनले बताए । आयोगलाई दल दर्ताका लागि सहज होस भनेर ४५ दिनको समय दिने गरिए पनि दबाब दिएर तीन चार दिनमै दल दर्ता हुने गरेको बताए ।