निर्वाचनको तयारीमा जुट्न जिल्ला सभापतिलाई देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघ र प्रदेश निर्वाचनको तयारीमा जुट्न जिल्ला सभापतिहरुलाई निर्देशन दिएका छन् ।

आइतबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका काँग्रेस काठमाडौंका सभापति सबुज बानियाँ र भक्तपुरका सभापति दुर्लभ थापालाई देउवाले निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।

बिज्ञापन

भक्तपुरका सभापति दुर्लभ थापाले भने, ‘हामीले जिल्ला कार्यसमितिका पदाधिकारीको भेला गरौं कि भनेर बालुवाटार गएका थियौं । सभापतिज्यूले अहिले भेला नगर्न भन्नुभयो ।’

१४ औं महाधिवेशनपछि नयाँ जिल्ला कार्यसमिति आएको भन्दै उनीहरुले पदाधिकारीको भेलाका गर्न योजनामा थिए । तर देउवाले भेला र बैठकभन्दा पनि निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको थापाले जानकारी दिएका छन् ।

सभापति देउवाले पार्टीलाई एकताबद्ध बनाएर चुनावमा होमिन पनि निर्देशन दिएको थापाको भनाइ छ । प्रधानमन्त्री समेत रहेका देउवाले मंसिर ४ गतेका लागि निर्वाचनको मिति तय गरिने संकेत समेत दिएका थिए । थापाकाअनुसार सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले चुनावको मिति घोषणा गर्न सक्छ ।