साउन ८ र ९ गते १०० जना नेपाली कामदार इजरायल जादै

काठमाडौं । साउन ८ र ९ गते नेपालबाट १०० जना नेपाली कामदार इजरायल जान भएका छन् । गत फागुनदेखि रोकिएको नेपाली कामदार इजरायल लैजाने प्रक्रिया सुरु भएसँगै साउन ८ र ९ गते १०० जना नेपाली कामदार इजरायल जाने वैदेशिक रोजगार विभागले जनाएको छ।

इजरायलका दीर्घकालीन स्याहार केन्द्रका लागि सम्झौता गरेका नेपाली सहायक कामदारहरु मध्ये १०० जना कामदारको भिसासहित राहदानी काठमाडौंस्थित इजरायल दूतावासको कन्सुलर विभागबाट प्राप्त भएको विभागले जनाएको छ ।

बिज्ञापन

विभागले भिसा आएकाहरुलाई आफ्नो राहदानी बुझ्न, उडान अनुसार बनाइने ग्रुपमा आफ्नो नाम समावेश गराउन र कोभिड–१९ विरुद्धको खोप लगाएको विवरण पेश गर्न साउन ४ गतेको समय दिएको छ। ८ र ९ गते हुने उडानका लागि सीलिंक होलिडेबाट हवाई टिकट बुकिङ गर्न सकिने जनाइएको । त्यसका लागि ५९ हजार ९९० रुपैयाँ हवाई भाडा तोकिएको छ ।

इजरायल उड्ने नेपाली कामदारले उडान गर्नुपूर्व ७२ घण्टाभित्र कोभिडको पीसीआर परीक्षण गराउनुपर्नेछ । उक्त परीक्षणमा नेगेटिभ आएको अवस्थामा मात्र इजरायलका लागि उडान गर्न पाउनेछन् ।

श्रम स्वीकृतिका लागि अनलाइन आवेदन गर्नका लागि जीवन बीमा गरेको हुनुपर्ने बताए । त्यसका साथै कल्याणकारी कोषको रकम तिरेको हुनुपर्ने छ । विभागले १०० जना कामदारको विवरण समेत सार्वजनिक गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीच १ हजार जना नेपाली सहायक कामदार लैजाने सम्झौता भएको थियो । सोही सम्झौता अनुसार विभागले आवेदन आह्वान गरेर १ हजार १ सय ७५ जनाको अन्तिम लिष्ट निकालेको थियो । जसमध्ये २९७ जना गत पुस र माघमा नै इजरायल पुगिसकेका छन् । बाँकी रहेका कामदार अहिलेसम्म जान पाएका थिएनन् ।
लामो समय रोकिएको प्रक्रिया सुरु भएसँगै विभागले द्रुत गतिमा काम अगाडि बढाएको जनाएको छ । छनोटमा परेका कामदारको स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम, श्रम स्वीकृति लगायतका कार्यहरु तिब्रताका साथ अगाडि बढेको उनको भनाइ छ । बाँकी रहेका कामदार लैजाने प्रक्रिया २४ असारबाट सुरु भएको थियो ।