
असार, २३ बिहिवार / झापा: ताम झाम गरेर गत वर्ष प्लस २ संचालन गरेको कमल ६ गेउरियामा रहेको हिमाली बोर्डिंग स्कुलको प्लस २ आफु खुशी बन्द गर्ने निर्णय गरेपछि यो विषय गम्भीर बन्दै गएको छ। कक्षा ११ को परीक्षा लिएर नतिजा समेत प्रकाशन नगरी अचानक प्लस २ नचलाउने निर्णय गर्ने बिद्यालय प्रशासन विरुद्द चौतर्फी आलोचना बढ्न थालेको हो। गत वर्ष दमकको कात्यायनी होटलमा ५० / ६० जना पत्रकारमाझ अत्याधुनिक शिक्षा दिने भन्दै प्रतिवद्दता व्यक्त गरेका बिद्यालय संस्थापक जीवन सापकोटा र तत्कालिन प्रधानाध्यापक अच्युत गौतमले अन्तत: आफैले गरेको प्रतिवद्दता कुल्चदै बिद्यालय बन्द गरेका छन्। अहिले सम्म अनुभव नै नगरेको पद्दतीमा पठनपाठन गराउने भन्दै प्लस २ मा ३/४ वटा संकाय राखेर कक्षा संचालन गरेका उनीहरुले १२ कक्षाका बिद्यार्थीलाई अलपत्र पारेका छन्। पत्रकार माझ खोक्रो आश्वासन सुनाएका तत्कालिन प्र अ अच्युत गौतम विगत ६/७ महिना देखि सम्पर्क विहिन छन्। उनले विद्यालय छोडेको भनिएता पनि हाल सम्म बिद्यालय प्रशासनले औपचारिक सूचना कतै प्रकाशन गरेको पाइदैन। उता बिद्यालय संस्थापक जीवन सापकोटा समेत बिद्यार्थीको भविष्यमाथि खेल्दै सम्पर्क विहिन हुने गरेको चर्चा चल्ने गरेको छ।

शिक्षकको पारिश्रमिक समेत नदिई प्लस २ बन्द गरेपछि प्लस २ मा कार्यरत शिक्षकहरु समेत आन्दोलनमा उत्रने बताइएको छ। श्रमजीवी शिक्षकहरुको रोजगारको ग्यारेन्टी गर्नु पर्नेमा उल्टै बैठक समेत नराखी बिद्यालय बन्द गर्ने प्रयासलाई शिक्षकहरु माथि घोर अपमान भएको एक शिक्षकले आरोप लगाए।



‘संचालकको झगडा के कुरामा हो थाहा भएन तर कार्यरत शिक्षक प्रतिको उनीहरुको व्यवहार समेत लज्जास्पद देखियो।’, ती शिक्षकले भने।

कक्षा ११ मा राम्रो अंक ल्याउने विद्यार्थीलाई ल्यापटप दिने प्रतिवद्दता समेत जनाउदै कक्षा ११ मा बिद्यार्थी भर्ना गराएको तर ल्यापटप दिन समेत उनीहरुले कुनै चासो देखाएका छैनन्।
शिक्षा, कानुन, होटल म्यानेजमेन्ट र कमर्सका विषय राखेर संचालनमा ल्याइएको प्लस २ मा राखिएका विषयहरु अन्य कलेजमा नमिल्ने भएपछी र ११ कक्षा पढेका विद्यार्थीलाई अन्य कलेजले भर्ना लिन अस्विकार गरेपछि समस्या झन् चर्किएको छ।
आफ्ना नानीहरुको उच्च शिक्षा लिनबाट बन्चित गराउने बिद्यालय प्रशासन प्रति अभिभावकहरु समेत आन्दोलनमा उत्रिन बाध्य भएका बताइन्छ।
बिद्यालयमा केहि अघि मात्र नयाँ संचालक आएको बुझिएको छ। यद्दपी यस विषयमा न त कुनै सूचना गरिएको छ न त नयाँ संचालकले प्लस २ का शिक्षक संग परिचयात्मक कार्यक्रम नै राखेका छन्।
चर्चामा आए अनुसार नयाँ संचालकले प्लस २ चलाउन आनाकानी गरेपछि समस्या सिर्जना भएको पाइन्छ। संचालकहरुले किन विद्यालयको पठन पाठन नै अवरुद्द गर्ने अघोषित निर्णय गरे भन्ने विषय रहस्यमय देखिएको छ।
वास्तविकता के हो भन्ने वारे बुझ्न खोज्दा नयाँ संचालक भनिएका गोबिन्द पोख्रेलले आफुलाइ यसवारेमा केहि थाहा नभएको प्रतिक्रिया दिने गरेका छन्। टेलिफोनमा समेत खासै बोल्न नचाहने उनि सबै कुरा जीवन सापकोटा संग बुझ्न आग्रह गर्छन। संस्थापक संचालक भनिएका जीवन सापकोटा संग वारम्वार सम्पर्क गर्न खोदा पनि उनि टेलिफोनमा जवाफ दिदैनन्।
यसै विच अनेरास्ववियु (क्रान्तिकारी) ले कमल गाउँ पालिका अध्यक्षलाई ध्यानाकर्षण गराउदै विद्यार्थीको भविष्य बर्बाद गर्नेहरुलाई कारवाही गर्न माग गरेको छ। ध्यानाकर्षण पत्रमा भनिएको छ,’विद्यार्थीले आफ्नो उच्च शिक्षा कुनै क्याम्पसमा अध्ययन गर्ने योजना बनाई सुरु गरेको हुन्छ। तर यस विद्यालयले कक्षा ११ उत्तीर्ण गरेका विद्यार्थीलाई कक्षा १२ मा अध्ययन गराउन सक्दिन भन्नु खेदजनक छ। ‘ ‘यस विषयमा गाउँपालिका शिक्षा शाखाले तुरुन्त छानविन गरि अविलम्ब ति विद्यार्थीलाई कक्षा १२ सोही विद्यालयमा संचालन गर्न जोडदार माग गर्दछौं।’