इरानमा ६ रेक्टर स्केलमाथिका लगातार ३ शक्तिशाली भूकम्प, चीनसम्म धक्का

दक्षिणी इरानमा शनिबार बिहान गएको ६.१ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । पछि सो क्षेत्रमा ६ दशमलव ३ रेक्टर स्केलका थप दुई शक्तिशाली भूकम्प गएको थियो ।समाचार एजेन्सी रोयटर्सले एक इरानी अधिकारी मेहरदाद हसनजादेहलाई उद्धृत गर्दै भनेको छ, “भूकम्पमा पाँच जनाको मृत्यु भएको छ र अहिलेसम्म कम्तीमा १२ जनालाई अस्पतालमा भर्ना गरिएको छ। राहत र उद्धार कार्य सुरु गरिएको छ।”  सरकारी समाचार एजेन्सी आईआरएनएले त्यहाँ एक दर्जनभन्दा बढी परकम्प गएको छ जसका कारण इरानको खाडी तट नजिकैको साइह खोश गाउँ पूर्ण रूपमा ध्वस्त भएको जनाएको छ।आईआरएनएले एक अधिकारीलाई उद्धृत गर्दै भन्यो, “पहिलो भूकम्पमा सबै पीडितको मृत्यु भएको थियो, जबकि त्यसपछिका दुईवटा ठूलो भूकम्पमा कोही पनि घाइते भएनन्, किनभने मानिसहरू पहिले नै घरबाट बाहिर भइसकेका थिए।” भूकम्पको केन्द्रबिन्दु इरानको बन्दरगाह सहर बन्दर अब्बासबाट करिब एक सय किलोमिटर टाढा थियो ।

चीन, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, बहराइनलगायत आसपासका धेरै देशहरूमा भूकम्पको धक्का महसुस भएको सामाजिक सञ्जालमा मानिसहरूले बताएका छन्। दुई प्रमुख टेक्टोनिक प्लेटमा रहेको इरानमा बारम्बार भूकम्प जान्छ। सन् १९९० देखि हालसम्म देशमा भूकम्पमा परी ८० हजारभन्दा बढीको ज्यान गएको छ । 2003 मा, केरमान प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्पले लगभग ३१,000 मानिसहरूको ज्यान लिएको थियो । त्यतिबेला बाम शहरलाई ध्वस्त बनाएको थियो ।

बिज्ञापन