झापामा बोरामा हालेर फ्याँकिएको शव फेला

झापाको अर्जुनधारामा बोरामा हालेर फ्याँकिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । अर्जुनधारा–४ स्थित ह्युम पाइपभित्र बोरामा पोको पारेर फ्याँकिएको अवस्थामा ३५–४५ उमेर समूहको युवकको लाश आइतबार साँझ फेला परेको हो । हालसम्म शवको पहिचान नभएको प्रहरीले जनाएको छ ।

शवको दुवै कुममा आरएन शब्द भएको ट्याटु खोपिएको, शरिरभरि बाक्लो रौँ भएको र फ्रेन्च कट दाह्री भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए । तीनदेखि चार दिन अगावै हत्या भएको जस्तो देखिने शवको टाउकोमा भारी बस्तुले हानेर हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।

बिज्ञापन

शव पोष्टमार्टमका लागि धरान पठाइएको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको कुवँरले जानकारी दिए ।