
काठमाडौँ । अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जाका ३०० भन्दा बढी घर डुबानमा परेका छन्। वर्षापछि हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरीचोक र म्याग्दीचोकका घर डुबानमा परेको सोही वडाका वडाध्यक्ष मोतिराज तिमिल्सिनाले बताए।

यसैगरी पहिरोले स्थानीय लक्ष्मी विक र रविना परियारको घर पूर्ण रूपमा क्षति गरेको र थप १५ घर उच्च जोखिममा रहेको बताइन्छ। डुबान र पहिरोका कारण ५०० हाराहारीमा मानिस विस्थापित भएको तिमिल्सिनाले बताए।



बस्तीमा बाढी पस्न थालेपछि राति नै स्थानीय सुरक्षित स्थानतर्फ लागेकाले मानवीय क्षति हुन पाएको थिएन।जिल्ला प्रहरी कार्यालयका कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले क्षतिको विवरण सङ्कलन भइरहेकाले यकीन विवरण आउन बाँकी रहेको बताए।

यसैगरी अविरल वर्षाका कारण पोखरा–१६ अर्मलास्थित स्यालघारीमा रामबहादुर मगरको घर, पहिरोमा बगेर पूर्ण क्षति भएको छ। अर्को एक घर पहिरोमा झुन्डिएका अवस्थामा रहेको र सो क्षेत्रका ११ घर उच्च जोखिमका कारण अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको सोही वडाका वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए।पहिरोबाट विस्थापितका लागि आमासमूह र सहकारी भवनको प्रयोग गरिएको उनले बताए।