
जनकपुरधाम । रामायण सर्किटमा सञ्चालन हुने भारत गौरव पर्यटक रेल पहिलोपटक नेपालको जनकपुरधाम आइपुगेको छ ।करिब ६०० धार्मिक पर्यटक बोकेको रेल बुधबार दिउँसो जनकपुरधाम आइपुगेको हो । उक्त रेल मंगलबार साँझ भारतको नयाँदिल्लीबाट गुडेको थियो ।रेलमा सवार धार्मिक पर्यटकहरुलाई मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, मन्त्रीहरु, जनकपुरधामका जनप्रतिनिधि र साधुसन्तहरुले जनकपुरधामस्थित रेल्वे स्टेशनमा स्वागत गरेका छन् ।भारतीय पर्यटकको स्वागतमा जनकपुरधामलाई सिंगारिएको छ । उपमहानगरपालिकाले ठाउँ–ठाउँमा स्वागतद्वार निर्माण गरेको छ । उनीहरुको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

भारतबाट आएका पर्यटकहरुहरु आज जनकपुरधाममै बस्ने बताइएको छ । जानकी मन्दिरसहितका धार्मिक स्थलहरु घुम्ने उनीहरुलाई साँझ गंगा सागर पोखरीमा हुने गंगा आरतीमा सहभागी गराउने तयारी गरिएको छ ।मुख्यमन्त्री राउतले रामायण सर्किटमा रेल चल्ने भएपछि यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले रेल सञ्चालनमा ल्याएकोमा खुशी व्यक्त गर्दै भारत सरकारलाई धन्यवादसमेत दिए ।



