नेपालको लगातार दोस्रो जीत, सेमिफाइनल पुग्ने सम्भावना बलियो

काठमाडौं। एसीसी महिला टी २० च्याम्पियनसिप क्रिकेटमा नेपालले लगातार दोस्रो जीत दर्ता गरेको छ।

मलेसियामा जारी प्रतियोगितामा नेपालले दोस्रो खेलमा कुवेतमाथि २५ रनको जीत दर्ता गरेको हो।

बिज्ञापन

नेपालले दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो।

कुवेतका लागि प्रियादा मुरालीले ३१ रन जोडिन्। यस्तै मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन बनाइन्।

नेपालकी सीता राना मगरले २ तथा अश्मिना कर्माचार्य, संगीता राई र इन्दु वर्माले एक एक विकेट लिइन् ।

त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहदै सर्वाधिक ३४ रन जोडिन्। यस्तै इन्दु बर्माले अविजित २८ रन बनाइन्। यस्तै ज्योति पाण्डेले १५ तथा बिन्दु रावलले ११ रन जोडिन्। सीता मगर र काजल श्रेष्ठले ५/५ रन जोडिन्।

कुवेतकी मारिमा हेदरले २ तथा मार्यम ओमार र खादिजा खालिलले १/१ विकेट लिइन्।

यो जितपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ।

अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–२० एसिया कप क्रिकेटमा छनोट हुनेछ।