सरकारविरुद्ध आन्दोलन गर्दै विप्लव

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

नेकपाका प्रवक्ता प्रकाण्डले जनजीविकाका सवालमा सरकार गम्भीर नभएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गर्ने जानकारी दिएका छन्।नेकपाले जेठ २५ गते राजमार्ग, काठमाडौं उपत्यका र देशव्यापी किसान विरोध प्रदर्शन, जेठ २७ गते अमेरिकी हस्तक्षेपविरुद्ध देशव्यापी विरोध प्रदर्शन,  जेठ ३० गते एमसीसी कार्यालय र जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र घेराउ, असार २ गते राजबन्दी रिहाइको पक्षमा देशव्यापी मशाल जुलुस, असार ५ गते चर्को महंगी र भाडावृद्धिविरुद्ध देशव्यापी विरोध प्रदर्शनका कार्यक्रम घोषणा गरेको छ ।

बिज्ञापन

विज्ञप्तिमा भनिएको छ, ‘देशको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता, जनअधिकार र जनजीविकाको दृष्टिले नेपाली जनता ईतिहासमै चरम संकटको अवस्थाबाट गुज्रिरहेकाे छ । हाम्रो देशमाथी अमेरिकी साम्राज्यवादी हस्तक्षेप तिव्र भैराखेको छ । अमेरिकी उप विदेशमन्त्री अजरा जियाको नेपाल स्थित तिब्बतीयन शरणार्थी शिविरको भ्रमणले उक्त कुराको पछिल्लो पुष्टि गर्दछ । दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि, यातायात क्षेत्रमा गरिएको भाडा वृद्धि र असारमा किसानले मल बीउ नपाउने अवस्थाले जनजीवन झन् पछि झन् चल्नै नसक्ने अवस्थामा पुग्दै छ । उपर्युक्त तथ्यले देशको अर्थतन्त्र टाट उल्टिँदै गरेको प्रमाणित गर्दछ । नागरिकको हत्या, महिला हिंसा र सामाजिक असुरक्षाको आतंक दिन प्रतिदिन बढ्दो अवस्थामा छ ।’