
मोरङको रतुवामाई नगरपालिकाको प्रमुखमा पुनः काँग्रेसले जितेको छ । उपप्रमुखमा पनि एमालेले दोहोरिएको छ । यसअघि प्रमुखमा काँग्रेसका रविन राईले जितेका थिए भने उपप्रमुखमा एमालेकी दमयन्ता चुँडालले जितेकी थिइन् ।

यस पटक प्रमुखमा काँग्रेसका नागेश्वरप्रसाद सिंह गनगाई विजयी हुँदा एमालेबाट उपप्रमुखमा भने पुनः दमयन्ता चुँडान नै निर्वाचित भएकी छिन् । रतुवामाईमा काँग्रेस र माओवादीबीच गठबन्धन भएको थियो । काँग्रेसका गनगाईले १३ हजार १ सय ३५ मत ल्याएर विजेता बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दुर्गा कुमार विष्टले ११ हजार २ सय ५२ मत ल्याए ।



यस्तै उपप्रमुखमा एमालेकी दमयन्ता देवी चुँडालले ९ हजार ३ सय ७४ मत ल्याएर विजयी हुँदा माओवादीका सुमन कालिकोटेले भने ८ हजार ४ सय ७९ मत ल्याए ।कम्युनिस्ट पार्टीको उद्गम थलो मानिने रतुवामाईमा एमाले उम्मेदवार दोस्रो पटक पनि पराजित बनेका हुन् । २०३५ सालमा नेकपा मालेको पहिलो महाधिवेशन साविकको इटहरा गाविस (हाल रतुवामाई नगरपालिका) मा भएको थियो । रतुवामाई नगरपालिकामै नेकपा एमालेका संस्थापक नेता स्व. मदन भण्डारीको घर छ ।
