अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटक : व्यवसायी उत्साहित

राउण्ड अन्नपूर्ण क्षेत्रमा दैनिक डेढ सय बढी विदेशी पर्यटक पैदल मार्ग हुँदै आउन थालेपछि यहाँको पर्यटन क्षेत्र पुरानै लयमा फर्किन सुरु भएको छ । कोरोना महामारीका कारण विगत दुई वर्षसम्म सुस्ताएको पर्यटन क्रियाकलापले गति लिन थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

कास्कीको नयाँ पुलबाट सुरु हुने राउण्ड अन्नपूर्ण क्षेत्रमा दैनिक डेढ सय बढी विदेशी र करिब ५०० को हाराहारीमा आन्तरिक पर्यटक भित्रिन थालेका अन्नपूर्ण संरक्षण क्षेत्र वीरेठाँटी चेक पोष्टले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा चहलपहल समेत बढ्दै गएको छ भने पूर्वाधार विकासले पनि गति लिन थालेको छ । कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै जान थालेपछि अधुरा रहेका पूर्वाधार विकासका काम पनि सुरु हुन थालेका घोडेपानीका होटल व्यवसायी सुरेन गुरुङले जानकारी दिए ।

बिज्ञापन

गुरुङका अनुसार अन्नपूर्ण पदमार्गमा विशेषगरी जर्मनी, फ्रान्स, इजरायल, अष्ट्रेलिया, अमेरिका बेलायतलगायत देशका पर्यटक बढी आउने गरेका छन् भने पछिल्लो समय आन्तरिक पर्यटक उल्लेख्य बढेको छ । पदमार्गमा असोजदेखि चहलपहल बढेको उनले बताए । वर्षौंदेखि पर्यटकलाई लक्षित गरी खोलिएका होटलसमेत कोरोनका कारण बन्द हुने स्थितिमा पुगेका थिए । पछिल्लो समय बन्द भएका होटलसमेत सञ्चालनमा आएका छन् भने नयाँ होटलसमेत थपिँदै गएको व्यवसायी बताउछन् । “यस क्षेत्रको मुख्य व्यवसाय नै होटल हो”, गुरुङले भने,“कोरोनाका कारण धेरै होटल बन्द भए । अहिले पर्यटक आउन थालेसँगै पुनः सञ्चालनमा आउन थालेका छन् ।” व्यवसायीका अनुसार कोरोनाले बन्द भएका होटल गत माघ महिनादेखि भरिभराउ हुनथालेका हुन् । पदयात्राका लागि उपयुक्त मौसम सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म मानिन्छ ।

अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । कास्कीको नयाँ पुलबाट सुरु भएको पदयात्रा घान्द्रुक, छोमरुङ, अन्नपूर्ण आधारशिविर पुग्छ भने पर्यटक वीरेठाँटी हुँदै घोरेपानी, पुनहिल, तातोपानी र मुस्ताङ् पुग्छन् ।  अन्नपूर्ण पदयात्रा मार्गमा मोटरबाटो पुगेर पदमार्ग छोटिएको अवस्थामा नयाँ रुटको विकास गर्न टान पश्चिमाञ्चलले गृहकार्य गरिरहेको सो संस्थाका सुशील पौडेलले बताए । उनका अनुसार २१ दिनबाट एक सातामा झरेको राउन्ड अन्नपूर्णको विकल्पमा अर्को रुटको तयारी भैरहेको छ । “वीरेठाँटीबाट घोडेपानी, स्वाँत, खोप्रा, हिडनलेक हुँदै छोम्रोङ पुग्ने र त्यहाँबाट लान्द्रुक, मर्दी हिमाल, माछापुच्छ्रे मोडेल ट्रेक हुँदै सार्दीखोला निस्कने र त्यहाँबाट घलेखर्क, तारा हिलटप, सिक्लेस, कफुचे, कोरी, क्व्होलासोंथर हुँदै नामुन पास भएर मनाङबाट बाहिरिने ट्रेलको अवधारणा छ, यो ट्रेलको  विकास गर्न सके २५ दिनसम्म अन्नपूर्ण क्षेत्रमा नै पर्यटकलाई भुलाउन सकिन्छ।