श्रीलङ्कामा फेरि सङ्कटकाल : यस्ता छन् ३ कारण

कोलम्बो : आर्थिक संकट झेलिरहेको श्रीलंकामा फेरि  आपत्काल लागू गरिएको छ।

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले मध्यरातबाट संकटकाल घोषणा गरेका हुन्। यो आदेश मे ६ को मध्यरातिदेखि लागू भएको हो।मे ६ मा बसेको मन्त्रिपरिषद्को विशेष बैठकपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले यस्तो निर्णय गरेका हुन्। यसअघि राष्ट्रपतिले अप्रिल २ मा पनि संकटकाल लगाएका थिए, जुन अप्रिल ५ गते हटाइएको थियो।प्रेसिडेन्टियल मिडिया युनिटको अनुसार राष्ट्रपति राजापाक्षेले तीन विषयमा केन्द्रित भएर संकटकाल लगाउने निर्णय गरेका छन्।

बिज्ञापन

— देशको अस्तित्व जोगाउन
— सार्वजनिक जीवनको लागि आवश्यक आपूर्ति र सेवाहरू कायम राख्ने
— सार्वजनिक सुरक्षा

श्रीलङ्का हाल गम्भिर आर्थिक संकटबाट गुज्रिरहेको छ। यस्तो अवस्थामा जनताले औषधि तथा दैनिक प्रयोगका सामग्री किन्न धेरै समस्या भोगिरहेका छन्। जनता सडकमा निस्किएका छन् र राष्ट्रपतिविरुद्ध लगातार प्रदर्शन भइरहेका छन्। आन्दोलनरत जनताले सरकारको राजीनामा मागेका छन्।उक्त निर्णयको एक दिनअघि कोलम्बोमा संसद्बाहिर प्रदर्शन गरिरहेका मानिसहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। आन्दोलनकारीले देशव्यापी बन्दको आह्वान गरेका थिए। त्यसपछि काम ठप्प भएको थियो।श्रीलंकाले अन्य देशबाट खाद्यान्न, इन्धन र औषधि ल्याइरहेको छ तर त्यो पर्याप्त छैन।

यसैबीच, एक महिनाभन्दा बढी समयदेखि जारी आन्दोलनले कहिलेकाहीँ हिंसात्मक रूप लिएको छ। आपत्काल लागू गरिए पनि सो समयमा पालन गर्नुपर्ने नियम अझै सार्वजनिक गरिएको छैन।यसअघि आपत्कालीन लागू भएपछि राष्ट्रपति गोटाबायाराजापाक्षेले सडक, पार्क, रेल, समुद्र तट जस्ता सार्वजनिक स्थानमा बाहिर निस्कन प्रतिबन्ध लगाउने सूचना जारी गरेका थिए। कोलम्बोमा आपत्काल लगाएको विषयमा क्यानडाका राजदूतले  प्रश्न उठाएका छन्। ‘विगत केही हप्तामा ठूलो संख्यामा मानिसहरू देशको लोकतन्त्रको सम्मान गर्दै शान्तिपूर्ण विरोध प्रदर्शनमा सामेल भएका छन्। त्यसैले किन यो आपतकाल घोषणा गर्नु आवश्यक भयो?’