नेपालमा कोरोना संक्रमण फेरि बढ्न सक्ने : यस्ता छन् कारणहरू

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोनाभाइरसको जोखिम अझै पनि कायम रहेको जनाएको छ । हाल नेपालमा संक्रमण दर घटेको भए पनि छिमेकी मुलुक भारतमा संक्रमण दर बढ्दै गएकाले नेपालमा पनि त्यसले जोखिम निम्त्याउन सक्ने मन्त्रालयको ठहर छ ।

 

बिज्ञापन

यसअघि कोरोना संक्रमणका तीन वटै लहरलाई केलाउँदा भारतमा संक्रमण दर उच्च विन्दुमा पुगेको एक महिनापछि नेपालमा पनि संक्रमण बढ्न सुरु भएको थियो । हाल भारतमा संक्रमण दर उकालो लाग्न थालेको छ । पछिल्लो २४ घण्टाको अवधिमा तीन हजार ५४५ व्यक्तिमा कोरोना संक्रमण भएको छ । सङ्क्रमितमध्ये एक हजार ३६५ जना नयाँ दिल्लीका छन् ।नेपालमा पछिल्ला दिनमा दैनिक सरदर १५ जनासम्म संक्रमित पाइएका छन् । स्थानीय तहको निर्वाचन केन्द्रित गतिविधि बढिरहँदा सहरदेखि गाउँसम्म सामूहिक भेटघाट, सभा, सम्मेलन, घरदैलो कार्यक्रम भइरहेका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ३० वटा जिल्लामा संक्रिय संक्रमित शून्य छ ।

नेपालमा जोखिम बढ्नुका कारण

नेपालमा लामो समयदेखि संक्रमण दर स्थिर भए पनि दैनिक १० देखि १५ जनामा संक्रमण पुष्टि हुने गरेको छ । भारतमा संक्रमण बढ्दै गएको अवस्था एकातिर छ भने भारतमै रोजगारीका लागि रहेका नेपालीहरू स्थानीय तह निर्वाचनमा मतदान गर्न आउनेक्रम बढ्दै जाँदा संक्रमणको जोखिम हुने मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी बताउँछन् ।नेपालमा चुनावको प्रचारप्रसार र आमसभा लगायतका गतिविधिमा जनस्वास्थ्य मापदण्ड पालना नहुँदा पनि संक्रमणको जोखिम बढेको उनले बताए । आम सर्वसाधारणले कोरोना संक्रमण दर कम भएको अवस्थालाई जोखिम नभएको ठानेर चुनावी माहोलमा मास्कको प्रयोगसमेत नगरेको देखिन्छ । जसले गर्दा संक्रमणको जोखिम रहेको उनले बताए ।