
काठमाडौँ- आयातित औलोका बिरामी बढेसँगै नेपाललाई औलोमुक्त बनाउने अभियानमा चुनौती थपिएको इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

आयातित औलोका बिरामी सात प्रदेशमध्ये कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी देखिने गरेको छ ।



आर्थिक वर्ष २०७७/७८ मा प्रदेशअनुसार आयातित बिरामीको सङ्ख्यालाई केलाउँदा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी १८४ जनालाई औलो बिरामी भेटिएका थिए । त्यसपछि लुम्बिनी प्रदेशमा ७७ जनामा औलो पुष्टि भएको थियो ।

यस्तै, कर्णाली प्रदेशमा १७ जना बिरामी भेटिएका थिए भने गण्डकी प्रदेशमा १२ जना र मधेस प्रदेशमा १० जनामा औलो पुष्टि भएको थियो ।
यता बागमती प्रदेशमा ८ जना भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा प्रदेश अनुसार औलोका स्थानीय बिरामी क्रमशः कम भएको तथ्याङ्कले देखाएको ।
स्थानीय औलोका बिरामी पनि सात प्रदेशमध्ये सुदूरपश्चिम र कर्णाली देखिएको छ । सुदूरपश्चिममा स्थानीयरुपमा ३९ जनामा र कर्णालीमा १७ जनामा औलो देखिएको थियो ।
यस्तै, लुम्बिनी प्रदेशमा १७ जना औलो देखिँदा गण्डकी प्रदेशमा बिरामीको सङ्ख्या शून्य, बाग्मती प्रदेशमा दुई जना, मधेस प्रदेशमा एक जना र प्रदेश नम्बर एकमा शून्य रहेको छ ।
‘नेपाल औलो रणनीति योजना’ अनुसार सन् २०२५ को अन्यसम्ममा औलोमुक्त राष्ट्र बनाउने गरी अगाडि बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमन लाल दास बताउँछन् ।
नेपालले सन् २०२२ सम्म स्थानीय औलोलाई शून्य पुर्याउने र सन् २०२५ सम्ममा औलोमुक्त राष्ट्र बनाउने लक्ष्य राखेको छ ।
२०२६ मा औलो शून्य भएको राष्ट्रका नाममा नेपालले सर्टिफिकेट लिने डा. दासको जिकिर छ ।
तर सन् २०२२ सम्म स्थानीय औलोलाई शून्य पुर्याउने भनिए पनि अप्रिल महिनासम्म आइपुग्दा (२०७९ साल वैशाख १० गतेसम्म) ६६ जना बिरामी भेटिएका छन् ।