आचारसंहिताको पूर्ण पालना होस्

स्थानीय निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन निर्वाचन आयोगले समयमै आचारसंहिता जारी गरिसकेको छ । यो आचारसंहिता विगतको भन्दा केही कडा र नीति–पद्धतिगत पनि छ । यसले राजनीतिक दलहरूका बीचमा केही त्रास र सतर्कता पनि निम्त्याएको छ । तर, दलका केही नेता र उम्मेदवारहरू भने यस आचारसंहिताको खासै ख्याल गरिरहेका देखिँदैनन् ।

राजधानी शहर काठमाडौंको चन्द्रागिरि नगरपालिका– ८ मातातीर्थका वडा अध्यक्षले बिहीबार मात्र ‘साडी वितरण’ गरिने एउटा सूचना जारी गरे । सूचनामा साडी लिन आउनका लागि बोलावट पनि गरिएको थियो । पुनः वडा अध्यक्षका प्रत्यासी बनेका उनले यो कुरा अनजानमा गरेका होलान् भन्न सकिने आधार देखिँदैन किनकि जनताका प्रतिनिधिका लागि लक्षित गरेर नै निर्वाचन आयोगले आचारसंहिता जारी गरेको थियो र हो पनि । सामाजिक सञ्जालमा समेत यस्ता सूचना हस्ताक्षरसहित आएपछि जनप्रतिनिधि साँच्चिकै आचारसंहिताप्रति जबाफदेही हुन सक्लान् कि नसक्लान् भन्ने प्रश्न भने उठ्ने गरिरहेको छ ।

बिज्ञापन

आचारसंहिता मूलतः जनप्रतिनिधि र उनका क्रियाकलाप निर्वाचनको मान्यता र आचारविपरीत नहोऊन् भन्ने उद्देश्यले नै बनाइएको हो । निर्वाचन जनप्रतिनिधि चयनका लागि हो । प्रजातन्त्रमा निर्वाचन एक निश्चित आचारमा बाँधिएको हुन्छ । यसले नै निर्वाचन स्वस्थ र स्वच्छ बनाउन स्पष्ट दिशा प्रदान गर्ने तथा प्रक्रिया पनि निर्धारण गर्ने गर्छ । तर, नेपालका राजनीतिक दलहरूले अहिलेसम्म यतिको कडा आचारसंहिताको अनुभव गरेका छैनन् ।

निर्वाचन आयोगले एउटा विधिपूर्वक निर्वाचन प्रक्रिया सम्पन्न गर्छ भन्ने भन्दा पनि राजनीतिक दलहरूले निर्वाचन गर्छन् भन्नेजस्तो परिरहेको थियो । तर, यस पटकको निर्वाचनमा भने दलहरूले निर्वाचन आयोगको संवैधानिक स्वायत्तताको थोरै भए पनि महसुस गरिरहेका छन् । न्यायपालिकाले पनि निर्वाचन पद्धति बलियो बनाउन आफ्नो मत जाहेर गरिरहेको छ । जनता अहिले निर्वाचन पद्धति र प्रक्रियासँग बढी विश्वस्त बनिरहेका छन् । पहिलेका निर्वाचनहरूभन्दा यसमा कम धाँधली हुने र स्वस्थ प्रतिस्पर्धाका आधारमा आफ्ना जनप्रतिनिधि चयन हुने आशा गरिरहेका छन् ।

नेपालका राजनीतिक पार्टीहरूले केही चलाखी र बठ्याइँ गर्न पनि जानेका छन् । नेता तथा कार्यकर्ताहरू अनुशासनका कुरालाई अवज्ञा गर्न पनि नहिच्किचाउने स्वभावका छन् । बानी परेकाले पनि यसो हुने गरेको हुन सक्छ । तर, देशमा लोकतन्त्र आइसकेपछि राजनीतिक दलहरू तथा तिनका नेता र कार्यकर्ताहरूमा लोकतान्त्रिक संस्कार र आचारको विकास हुनु जरुरी भएको छ ।

यसका लागि सम्बन्धित निकायको अनुगमन पनि जरुरी छ । नत्र भने देशको राजनीतिक प्रणाली एकातिर र राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू अर्कोतिर हुन पुगेर हालसम्म प्राप्त भएका राजनीतिक उपलब्धि गुम्न सक्ने खतरा पनि पैदा हुनेछ । निर्वाचन आचारसंहिता यी खतराहरूबाट मुक्त गरी जनताका प्रतिनिधि चयन गर्ने र देशमा अङ्गीकार गरिएको राजनीतिक प्रणालीलाई सुदृढ र सबल बनाउने एक संहिता पनि हो । यसको प्रारम्भदेखि मतदान सम्पन्न भइसक्दासम्म भरपूर पालना होस् ।