१ करोड मूल्य बराबरको काठ बरामद : सामुदायिक वन तस्करसँग मिलेको आशंका

सिन्धुली : सिन्धुलीमा ठूलो परिमाणमा सालको अवैध गोलिया काठ प्रहरीले बरामद गरेको छ। प्रहरीले अवैध रूपमा लुकाइछिपाइ जिल्ला बाहिर निकासी गर्न लागिएको अवस्थामा २ हजार २ सय ९७ क्यूफिट गोलिया काठ बरामद गरेको हो।

हरिहरपुरगढी गाउँपालिका–१ वाग्मती नदीको किनारमा घाटगद्दीमा रहेको साल तथा अन्य जातको अवैध गोलिया काठ फेला पारी २ हजार २ सय ९७ क्यूफिट गोलिया काठ बरामद गरेको प्रहरीले जनाएको छ।

बिज्ञापन

यो काठको मूल्य झण्डै एक करोड रुपैयाँबढी हुन आउँछ।  बरामद भएको काठमा साल जातको १ सय ८० थान गोलियाको १ हजार ५सय ४५ क्यूफिट र अन्य जातको ७१ थान गोलियाको ७ सय ९१ क्यूफिट रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (प्रहरी उपरिक्षक) विमलराज कँडेलले जानकारी दिए।

स्थानीय सामुदायिक वन समूह र काठ व्यवसायी तथा काठ तस्करहरूको मिलेमतोमा यति धेरै ठूलो परिमाणमा काठ कटान गरी अवैध निकासा गर्न लागिएको हुन सक्ने प्रहरीको अनुमान छ। त्यस क्षेत्रमा यस अघि पनि अवैध काठ चोरी निकासी हुँदै आएको छ।

उता डिभिजन वन कार्यालय मरिणका सहायक वन अधिकृत अभिमन्यु केसीले बरामद गरिएको काठका सम्बन्धमा आवश्यक अनुसन्धान थालिएको बताए।