तेहरो वायुले मौसम प्रभावित

काठमाडौं । क्षणभरमा बदलिने मौसम, अपराह्नपछि मेघ गर्जंदै मध्यम र हल्का वर्षा हुनु मनसुन पूवार्द्ध (प्रि–मनसुन)को विशेषता हो।धूलोसहितको हावाहुरी, मेघ गर्जनसहित मध्यम र हल्का वर्षा अझै केही दिन दोहोरिनेछ ।

स्थानीय वायु, बंगालको खाडी र अरब सागरको वायुको तेहरो प्रभावले अधिकांश भेगको मौसम प्रभावित भएको र यो क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् गंगा नगरकोटीले द नेपालटपसँग भनिन्, ‘प्री मनसुनका बेलामा छिनछिनमा मौसम बदलिन्छ, कतिपय अवस्थामा मौसम पूर्वानुमान गर्नसमेत गाह्रो हुन्छ।

बिज्ञापन

अहिलेको अवस्था नियाल्दा आइतबार दिनभर पनि धेरै ठाउँमा मौसम खुल्नेछैन।’ अन्यत्रको तुलनामा प्रदेश १ का पहाडी भेग, बाग्मती र गण्डकी प्रदेशमा मौसमको प्रतिकूल प्रभाव कायमै रहने उनले बताइन्। कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुले बादल बनाउने प्रणाली भित्र्याएको तर वर्षा गराउने प्रकृतिको भने नभएको महाशाखाले जनाएको छ। बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाले प्रदेश १ का पहाडी भेगमा एक सातायताको मौसम प्रभावित बनेको छ।

मौसमविद्हरु अंग्रेजी महिनाका मार्च, अप्रिल र मे (जेठ तेस्रो सातासम्म) लाई प्रि–मनसुनका रूपमा बुझ्ने गर्छन्। मौसम धुम्मिन थालेपछि शनिबारयता काठमाडौंसहित धेरै ठाउँको तापक्रम घटेको छ । गत मंगलबार ३९ डिग्री हाराहारी पुगेको धनगढी, नेपालगंज, दिपायलको तापक्रम अहिले केही खस्किएको छ ।