
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माप्रति कटाक्ष गरेका छन् । अर्थमन्त्री शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही गरेकोप्रति ओलीले आपत्ति जनाएका हुन् ।

शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्र सुधारको प्रयास गरिरहेका गभर्नरलाई कारबाही गरेकोमा आक्रोश व्यक्त गरेका हुन् ।



ओलीले अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र ध्वस्त पारेको आरोप समेत लगाएका छन् ।

उनले भने, ‘थुतुनाभरि रौँ भएको मुसाले धान खायो, एउटै रौँ नभएको भ्यागुतोलाई कारबाही गर्यो । धान खाने मुसो, चोट खाने भ्यागुतो भयो । त्यसमा पनि अनुहारभरि रौँ भएको मुसोले अर्थतन्त्र बर्बाद पार्यो, ध्वस्त पार्यो । देश निर्लज्ज व्यक्तिहरूको हातमा परेको छ ।’
‘देशको अर्थतन्त्र जोगाउन खोज्ने राष्ट्रसेवक, अर्थविद्, राष्ट्र बैंकबाट डेप्युटी गभर्नर भएर अर्थतन्त्र बुझेका मान्छेलाई बलीको बोको बनाइयो ।
उनलाई निलम्बन गरियो । माओवादीले नियुक्त गरेका, माओवादी निकट भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाइयो’ ओलीले थपे ।