
जनकपुरधाम । धनुषामा साथीको हत्या अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चक्कु र गोली हानी हत्या गरेको अभियोगमा धनुषाको हंसपु्र नगरपालिकाका एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका-७ नौवाखोरका २० वर्षीय मनोज महरा रहेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार बुधबार हंसपुर नगरपालिका(७ का १८ वर्षीय विजय रामको हत्या गरी गँहु खेतमा फालिएको अवस्थामा शव फेला परेको थियो। शव फेला परेको खबरपश्चात प्रहरीले गरेको अनुसन्धानबाट यस घटनामा महरासहित तीन जनाको संलग्नता रहेको खुलेको छ।



प्रहरी निरीक्षक विक्रम साहको नेतृत्वमा खटेको अनुसन्धान टोलीले घटनास्थलको सुक्ष्म अनुसन्धान र विभिन्न व्यक्तिहरुसँग सोधपुछ गर्दा विजय राम मंगलबार राति ७ बजे ३ जना साथीहरुसँग घर बाहिर घुम्न जाने बहानामा निस्केका थिए। प्रहरीले घटनामा महरालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा हंसपुर-७ कै १९ वर्षीय पंकज मण्डल, २२ वर्षीय जितु मण्डल र महराले मिलेर विजय रामलाई गोली हानी हत्या गरेको खुलेको प्रवक्ता बस्नेतले बताए। तीनै जनाले पुरानो रिसिबीको कारण विजयको हत्या गरेको खुलेको हो। घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।
