
कर्णाली- कर्णाली करिडोरमा नौवटा पक्की पुल निर्माण हुने भएका छन् । कालीकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म ती पुल निर्माण हुने भएका हुन् ।

कर्णाली करिडोर अन्तर्गत पर्ने कालीकोट सडकखण्डको खुलालु, सान्नीघाट र फुगाड खोलामा तथा बाजुराको जुड्डी, बूढीगाड, गल्फगाड र कवाडी खोलामा पक्की पुल निर्माण हुने भएको हो । त्यस्तै हुम्लाको सलीसल्लाको कर्णाली नदी र सर्केगाड खोलामा पुल निर्माण हुने हुम्ला सडक डिभिजन कार्यालयले जनाएको छ ।



पक्की पुल निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढेको उक्त कार्यालयका इन्जिनियर वीरेन्द्र यादवले जानकारी दिएका छन् । “ठेक्का प्रक्रिया अगाडि बढेको छ,”उनले भने, “यी खोलामा चाँडै पक्की पुल निर्माणको काम अगाडि बढ्छ ।”

सडक खण्ड फराकिलो पारिँदै
कर्णाली करिडोर अन्तर्गत कालीकोट सडक खण्ड फराकिलो बनाउन थालिएको छ । कालीकोटको खुलालुदेखि लैफुसम्म करिडोर क्षेत्रको ४२ किलोमिटर सडक फराकिलो पार्ने काम सुरु भएको हो ।सडक चौडा बनाउने कामको थालनी गरिएको र दुई ठेकेदार कम्पनीहरुले काम सुरु गरिसकेको उक्त कार्यालयले जनाएको छ । कर्णाली करिडोर साघँुरो हुँदा यातायात सञ्चालनमा समस्या भएकाले सडक फराकिलो पार्न लागिएको उक्त कार्यालयका इन्जिनियर यादवले बताए । “सडक फराकिलो पार्ने पहिलो चरणको काम सुरु भएको छ,”उनले भने, “अब हुम्लासम्म नै सडक फराकिलो पार्ने काम हुनेछ ।” करिडोर अन्तर्गतको ४० किलोमिटर कालीकोट खण्ड, ४४ किलोमिटर बाजुरा खण्ड र ११३ किलोमिटर हुम्ला खण्ड रहेको छ ।