
चितवन: राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लबले सहज जित हात पारेको छ। आज (आइतबार) भएको पहिलो खेलमा पुलिसले वालिङलाई ३–१ ले पराजित गरेको हो।

पुलिसका लागि निर्मला विकले २ गोल गरिन् भने अर्को गोल अमृता जैशीले गरिन्। वालिङकी सुश्मा जिटीले १ गोल फर्काईन्। तुलनात्मक रुपमा कमजोर वालिङ्गविरुद्ध पुलिसले दोस्रो मिनेटमा नै अग्रता लियो। पुलिसका लागि निर्मला विकले पहिलो गोल गरिन्।



३३ औं मिनेटमा निर्मलाले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा पुलिसले २–० को अग्रता लियो। ६८ औं मिनेटमा वालिङकी सुश्माले गोल फर्काईन्। ८१ औं मिनेटमा अमृताले फ्रि किकमा गोल गरेपछि पुलिस ३–१ ले विजयी भयो। अमृता नै खेलको प्लेयर अफ दि म्याच भईन्।

यो जितपछि पुलिसको ४ खेलबाट ९ अंक भएको छ। पुलिसको जति नै खेल खेलेको वालिङ अंकविहीन छ। वालिङले खेलेका चारै खेलमा पराजित भएको छ।
आजको दोस्रो खेलमा विराटनगरले ललितपुरलाई ५–१ ले पराजित गरेको छ। विराटनगरलाई जिताउन इमा राई, मनिषा थापा मगर, सन्दीपा भोलोन, अस्मिता चौधरी र मिना खातुनले समान १र१ गोल गरे। ललितपुरकी कप्तान सृजना सिंहले १ गोल फर्काईन्।
विराटनगरले खेलको सातौं मिनेटमा अग्रता लिएको थियो। मिडफिल्डर ईमाले फ्रि किकमा सुन्दर गोल गर्दै विराटनगरलाई अग्रता दिलाएकी थिईन्। ३५ औं मिनेटमा मनिषाले विराटनगरनगरलाई दोहोरो अग्रता दिलाईन्। उनले कर्नरमा सुन्दर हेडर गोल गरिन्।
दोस्रो हाफ शुरू भएलगत्तै ललितपुरले गोल फर्कायो। ४७ औं मिनेटमा कप्तान सृजनाले एकल प्रयासमा सुन्दर गोल गर्दै ललितपुरलाई खेलमा फर्काउने संकेत गरेकी थिईन्।
तर ५६ औं मिनेटमा सन्दीपाले गोल गर्दै विराटनगरलाई ३–१ को अग्रता दिलाईन्। ७९ औं मिनेटमा अस्मिताले डिबक्स बाहिरबाट सुन्दर गोल गर्दै विराटनगरको अग्रता ४–१ मा पुर्याईन्। ८७ औं मिनेटमा मिना खातुनले गोल गरेपछि विराटनगर ५–१ ले विजयी भयो। खेलको प्लेयर अफ दि म्याच विराटनगरकी अस्मिता चौधरी भईन्।
यो जितपछि विराटनगर त्रिभुवन आर्मी फुटबल क्लबलाई उछिन्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ। विराटनगरको ४ खेलबाट ७ अंक भएको छ। समान खेलबाट ६ अंक भएको आर्मी पाँचौं स्थानमा झरेको छ। उता आज पराजित ललितपुर ४ खेलबाट ३ अंकसहित छैटौं स्थानमा यथावत छ।
लिगमा मंगलबार २ खेल हुनेछन्। मंगलबार पहिलो खेल दिउँसो १ः१५ बजे वालिङ र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुनेछ भने दोस्रो खेल दिउँसो ४ः१५ बजे ललितपुर र एपिएफबीच हुनेछ।