
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीहरूलाई निर्देशन दिएको छ ।

कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न, विक्री वितरण नरोक्न र पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन निर्देशन दिएका हुन्।



पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन, अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न र सहज उपलब्ध गराउन निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

कार्यवाहक प्रधानमन्त्री खाणले गृहलगायत सरोकारवाला मन्त्रालयका सचिवलाई निर्देशन दिएको र त्यसै अनुरुप गृहले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर पठाउँदै प्रतिवेदन पठाउन निर्देशन दिएको प्रवक्ता पोखरेलले बताए।
दैनिक उपभोग्य वस्तुको अस्वभाविक मूल्यवृद्धि भएको गुनासो बढेपछि गृह मन्त्रालयले आइतबारबाटै ७७ जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन समितिमार्फत अनुगमन गरी प्रतिवेदन पठाउन निर्देशन दिएको छ ।
गृह प्रवक्ता पाखरेलका अनुसार जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने अनुगमन समितिले मूल्य बढे-नबढेको, दैनिक उपभोग्य बस्तु अभाव भए नभएको अनुगमन गरेर सबै जिल्लाले मन्त्रालयमा रिपोर्ट पठाउने छन् ।