चीनका विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै

चीनका विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार नेपाल आउँदै छन् ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा हुन लागेको भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

विदेशमन्त्री वाङको भ्रमणका लागि उच्चस्तरीय सुरक्षा व्यवस्था गरिएको छ । नेपाल भ्रमणका क्रममा आवश्यक सुरक्षा व्यवस्थापनका विषयमा गृह मन्त्रालयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले बताए ।

विदेशमन्त्री वाङको बासस्थानदेखि उहाँ सवार सडक, चोक तथा औपचारिक र अनौपचारिक कार्यक्रम स्थलहरूमा विशेष निगरानीसहितको सुरक्षा सतर्कता बढाउने तयारी गरिएको छ । बौद्ध, स्वयम्भू र हात्तीसारलगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

उनको स्वागतको भव्य तयारी गरिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए । विमानस्थलमा विदेशमन्त्री वाङलाई परराष्ट्रसचिव भरतराज पौड्यालसहितको टोलीले स्वागत गर्नेछन् ।

नेपाल भ्रमणमा चीनका विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट हुनेछ । त्यस्तै चैत १२ गते परराष्ट्रमन्त्री डा। खड्कासँग उनले द्विपक्षीय भेट गर्नेछन् ।