
महानगरीय अपराध महाशाखाले काठमाडौंको शंखमूलमा १ युवकमाथि खुकुरी प्रहार गरेको घटनामा ५ जनालाई पक्राउ गरेको छ। प्रेममा विवाद हुँदा खुकुरी प्रहार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने २५ वर्षीय सुरज खड्कामाथि ८-९ जनाको समूहले खुकुरी प्रहार गरेको हो। खुकुरी प्रहारबाट खड्का गम्भीर घाइते थिए। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको महाशाखाले जनाएको छ।



ज्यान मार्ने उद्योगमा पक्राउ पर्नेमा दोलखा नाम्दु गाउँपालिका-६ घर भई जडिबुटी बस्ने ३४ वर्षीय रोशन लामा, भक्तपुर मध्यपुर ठिमी नगरपालिका-९ बस्ने २३ वर्षीय पुकार केसी, सिन्धुपाल्चोक बतासे गाउँपालिका-९ भई भक्तपुर बस्ने २३ वर्षीय प्रविन लामा, मन्थली नगरपालिका-१३ बस्ने १९ वर्षीय राजेश बुढाथोकी र खाँडादेवी गाउँपालिका-३ घर भई जडिबुटी बस्ने सञ्जिब मोक्तान छन्।
