
रौनहट । कटहरिया नगरपालिका ९ डुमरियामा शुक्रबार राति होली मनाउने क्रममा झडप भएको हो ।
होली मनाउने क्रममै दुई पक्षबीच झडप र ढुंगा हानाहान भएको छ । झडपमा केही मानिस घाइते भएका छन् ।

घाइते हुनेमा कटहरिया ९ डुमरियाका तिन जना रहेका छन् । स्थानीय राजकुमार यादव, महबुब मिया र जटाशंकर साह घाइते भएको प्रहरीको भनाइ छ ।
यादव र मियालाई उपचारको लागि वीरगंज पठाइएको छ भने साहको उपचार गरुडामा भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि श्रीराम भन्डारीले जानकारी गराएका छन् । रौतहटमा राजनीतिक आस्थाको आधारमा समूहमा विभाजित भई होली खेल्ने चलनको विकास भइसकेको छ ।



कटहरिया ९ डुमरियामा वडाध्यक्ष रामाज्ञा राय यादव र ओमप्रकाश साह गरी दुई पक्षमा होली भएकोमा झडप भएको हो । झडपकै क्रममा दुई राउन्ड गोली पनि चलेको छ । गोलीले कुनै क्षति भएको विवरण छैन ।

गोली कुन पक्षले चलाएको हो भन्ने यकिन हुन सकेको छैन ।
घटनाको अनुसन्धानको क्रममा सोधपुछको लागि वडाध्यक्ष रामाज्ञा राय यादवसहित पाँच जनालाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको जानकारी दिएको छ । यसैगरी रौतहटको गढीमाई नगरपालिकाको धर्मपुरमा पनि होली खेल्ने क्रममा दुई पक्षबीच झडप भएको खबर प्राप्त भएको छ ।