खुला चौरमा पठनपाठन

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२ स्थित लुलाङ आधारभूत विद्यालयलाई चौरमा पठनपाठन गराउनुपर्ने बाध्यता छ। भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको सबैभन्दा ठूलो दलित बस्ती लुलाङमा रहेको विद्यालय भवन भत्किएर जीर्ण बनेका कारण खुला चौरमा पठनपाठन गराउन बाध्य हुन परेको हो ।

गत असोजमा कक्षा ६ र ७ को भवनको पर्खाल भत्किएको विद्यालयका प्रअ नागेन्द्र ठाकुरले बताए । दुईकोठे भवन भत्किएको र चारकोठे अर्को भवन पनि जीर्ण बनेकाले पठनपाठनमा समस्या भएको उनको भनाइ छ। कार्यालय र दुई कक्षाकोठा भएको अर्को भवनको पर्खाल पनि बाङ्गिएकाले जोखिम बढेपछि खुला चौरमा पठनपाठन गराउनुपर्ने बाध्यता रहेको उनले बताए ।

बिज्ञापन

भिरालो पाखो सम्याएर फरकफरक ठाउँमा बनाइएको विद्यालयको भवन र खेलमैदान संरक्षणका लागि निर्माण भएको ग्यावियन पर्खाल पनि भत्किएको छ । भत्कने अवस्थाको जीर्ण भवनमा जोखिम, चौरमा धुलो र गर्मीले सताउने गरेको कक्षा ७ की विद्यार्थी प्रतिक्षा रसाइलीले बताइन्।

चर्किएर बाङ्गिएको भवनको पर्खाल कुनबेला भत्किन्छ भन्ने डर बताउँदै भवनको जोखिमयुक्त अवस्थाले शैक्षिक वातावरणमा असर पुगेको छ, वर्षात् हुँदा पठनपाठन बन्द गर्नुपर्ने अवस्था रहेको प्रअ ठाकुरको भनाइ छ । पानी परेको समयमा विद्यार्थीका झोला, पुस्तक, कापी भिज्ने गरेको उनले बताए ।

कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा २३५ विद्यार्थी रहेका छन् । यो आधारभूत तहमध्ये गाउँपालिकामा सबैभन्दा धेरै विद्यार्थी सङ्ख्या भएको विद्यालय हो । गत वर्ष तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा दुईकोठे ट्रस र खानेपानी तथा सरसफाइसहितको छात्रामैत्री शौचालय निर्माण गरिएको थियो । यसबाहेक अन्य चारमध्ये दुई भवन जीर्ण रहेका र नयाँ भवन निर्माणका लागि गाउँपालिका, शिक्षा विकास तथा समन्वय एकाइलगायत निकायमा प्रस्ताव गरिएको प्रअ ठाकुरले बताए।

विद्यालयको कक्षा ६–८ निजी स्रोतबाट सञ्चालन गरिएको छ । प्रवासबाट आउने लाहुरेलाई स्वागत, विवाह, किरिया, छेवार, गुन्युचोली देखाउने जस्ता संस्कारगत कार्यमा नाचगानका साथै चन्दाबाट निजी स्रोतका शिक्षकको तलब भत्ता जुटाइने गरिएको लुलाङका वडाध्यक्ष गमप्रसाद विकले बताए । नयाँ भवन निर्माणको आवश्यकता रहेको गाउँपालिकामार्फत भवनको समस्या समाधानका लागि आफुले पहल गरेको उनकाे भनाइ छ ।