
काठमाडौं। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि बनाइएको आचारसंहिताप्रति नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले असन्तुष्टि जनाएका छन्। उनले आचारसंहितामा भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी घोषणा गर्नुअघि पदमा रहेकाहरूले राजीनामा दिनुपर्ने प्रावधानप्रति असन्तुष्टि जनाएका हुन्।

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पदमा बहाल जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने सर्त व्यवहारिक नभएको रिजालको तर्क छ ।



शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उनले पालिका अध्यक्ष वा मेयरहरुले चुनावमा जानुअघि पद खाली गरि जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किन भन्दै प्रश्न गरे। ‘प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन।

स्थानीय तहका प्रधानमन्त्री (पालिका अध्यक्ष वा मेयरहरु ) ले चाहिँ चुनावमा जानुअघि पद खाली गरि जनतालाइ दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किन ?,’ रिमालको प्रश्न छ । पदको दुरुपयोगको आशंकामा यस्तो व्यवस्था गरिएको हो भने त्यसलाई रोक्नतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ।