सुर्खेत विमानस्थल विस्तार कार्य खारेज

सुर्खेत- प्रदेश राजधानी वीरेन्द्रनगरको सुर्खेत विमानस्थल विस्तार प्रक्रिया अन्ततः खारेज भएको छ ।

प्रदेश सरकार, नागरिक उड्डयन प्राधिकरण, जनप्रतिनिधि र स्थानीयबीच भएको छलफलमा सुर्खेत विमानस्थलको विस्तार प्रक्रिया सधैँका लागि खारेज गर्ने सहमति भएको हो ।

बिज्ञापन

हाल एक हजार २५५ मिटर लम्बाइ रहेको सुर्खेत विमानस्थलको धावनमार्ग तीन सय मिटर थप गर्ने प्रक्रिया अगाडि बढेको थियो ।

धावनमार्ग छोटो हुँदा ठूला विमान आउन नसक्दा भाडा महँगो भएको र हवाई यातायात अनियमित भएको भन्दै तीन सय मिटर थप गरी धावनमार्ग एक हजार ५५५ मिटर बनाउने प्रक्रिया अगाडि बढेको थियो ।

धावनमार्ग विस्तार गर्दा विद्यालयसहित सयौँ घरहरू हटाउनुपर्ने र मुआब्जामा मात्रै अर्बौं लाग्ने भएपछि धावनमार्ग विस्तारको प्रक्रिया सधैँका लागि खारेज गर्ने निर्णय भएको विमानस्थल प्रभावित नागरिक सरोकार समितिका संयोजक टीकाराम आचार्यले बताए ।

उनले सुर्खेत विमानस्थल विस्तार प्रक्रिया आर्थिक र प्राविधिक रूपले दीर्घकालीन नदेखिएकाले विस्तारको काम सधैँका लागि खारेज गर्ने सहमति भएको जानकारी दिए ।