
काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिला हिंसा अन्त्यका लागि कानूनको सुधार गर्नुपर्नेमा जोड दिएकी छन् ।

आज ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले कसैले अधिकारको प्रयोग गर्दैगर्दा अर्को पक्ष पीडित बन्ने कुरालाई ध्यान दिँदै कानूनको सुधार गर्नुपर्ने बताइन् ।



कतिपय महिला हिंसाका घटनालाई राजनीतिकरण गरेर पीडितले न्याय नपाउने अवस्था आएकाले त्यस्ता घटनाको विषयमा बहस र पैरवी अदालतमा मात्रै हुनुपर्ने उनले बताइन् ।

उनले भनिन्, ‘खासगरी विधेयकहरु सरकारी तहमा मात्रै बन्ने एकाध बाहेक र सरकारले विधेयक ल्याउनुभन्दा अगाडि सरोकारवाला निकायहरुले व्यापक छलफल गर्नुपर्ने र त्यसैका लागि संविधानतः बनाइएका संवैधानिक आयोगहरूले पर्याप्त होमवर्क, पर्याप्त काम गर्नुपर्ने देखिन्छ ।
र त्यसको समन्वय गर्ने काम महिला मन्त्रालयको हो । आज दिइएको अधिकार प्रयोग गर्दै गर्दा अर्को पक्ष पीडित बन्दै गरेका कुराहरुलाई कानूनको सामुहिक बनाउने कुरा, अधिकारलाई प्रभावकारी कार्यान्वयन गर्ने कुरा र कानूनमा भएका त्रुटीहरूलाई सुधार गर्ने कुराको प्रतिवद्धता महिलाको आँखाबाट आज हेर्दै गर्दा हामीले यो संकल्प र प्रतिवद्धता गरौँ कानूनको सामुहिक सुधार आवश्यक छ ।’
मन्त्री झाँक्रीले संवैधानिक निकायहरुमा बनेका कानुनहरूको प्रभावकारी कार्यान्वयन भएका छन् कि छैनन् भनेर अनुगमन गर्नुपर्ने पनि बताइन् ।