अभिनेता शाहलाई तनहुँबाट गैंडाकोट लगियो

काठमाडौं — अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोट लगिएको छ ।

एक किशोरी गायिकलाई बलात्कार गरेको अभियोगमा तनहुँ प्रहरी हिरासतमा रहेको शाहलाई सोमबार इलाका प्रहरी कार्यालय गैंडाकोट लगिएको हो ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिलिप गिरीले बलात्कारको मुद्दामा अनुसन्धान गर्न शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा राखेर अनुसन्धान सुरु गरेको जानकारी दिए । बुधबार जिल्ला अदालतबाट म्याद थपिनेछ ।

शाहले बलात्कार गरेको भन्दै ती किशोरीले तनहुँ र गैंडाकोटमा उजुरी दिएकी थिइन् ।

११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी परेपछि शाह १५ फागुनमा आफैं प्रहरीसमक्ष उपस्थित भएका थिए ।

१७ वर्षीया किशोरी गायिकालाई उनले विवाह गर्छु भन्दै अनेक प्रलोभनमा पारेर यौन शोषण गरेको पीडित पक्षले जाहेरीमा आरोप लगाएका छन् । स्रोतका अनुसार आफूविरुद्ध भएको यौन शोषण बाहिर ल्याउन किशोरीले पटक पटक प्रयास गरे पनि पलले अनेक कुरा गरेर उनलाई फकाएका थिए ।

के भन्छ कानुनले ?

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।