
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनको आयातलाई थप नियन्त्रण गरेको छ। अचाक्ली आयातका कारण देशको मुद्रा सञ्चिति खस्किंदै गएपछि राष्ट्र ब्यांकले सुनको आयातलाई दैनिक १० किलोमा सीमित पारेको हो।

आइतबार ब्यांक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै केन्द्रीय ब्यांकले आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई १० किलो कायम गरिएको उल्लेख छ।



यसअघि दैनिक २० किलो सुन आयात गर्न पाइन्थ्यो। सुन आयातमा ठूलो रकम बाहिरिएपछि केन्द्रीय ब्यांकले आयातको कोटा आधा घटाएको हो। व्यावसायीले भने दैनिक ३० किलोसम्म सुन आयात गर्न दिनुपर्ने माग राख्दै आएका छन्।

चालू आर्थिक वर्षको पहिलो ६ महीना (पुससम्म) मा नेपालले रु.२३ अर्ब २६ करोडको सुन आयात गरिसकेको छ। यो अघिल्लो वर्षको यही अवधिका तुलनामा ९० प्रतिशतले बढी हो। विदेशी विनिमय सञ्चिति लगातार खस्किएपछि केन्द्रीय ब्यांकले पछिल्लो समयमा विभिन्न वस्तुको आयातमा बन्देज लगाउँदै आएको छ।