माओवादी अध्यक्ष प्रचण्ड असन्तुष्ट नेता श्रेष्ठबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । आज बिहानै अध्यक्ष प्रचण्डले श्रेष्ठलाई आफ्नै निवास खुमलटारमा बोलाएर आधा घन्टा छलफल गरेका छन् ।

भेटमा प्रचण्डले नेता श्रेष्ठलाई पार्टी विभाजन गर्ने र विभाजन हुने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् । भेटमा नेता श्रेष्ठले भने तपाईंले पार्टी छोडेर गए हुन्छ भनिसकेकाले परिस्थिति धेरै बिग्रि सकेको प्रष्ट पारेका थिए ।

बिज्ञापन

एमसीसी संसदबाट व्याख्यात्मक घोषणासहित पास गर्ने निर्णयमा श्रेष्ठ असन्तुष्ट छन् । संसदबाट एमसीसी पास भइसकेपछि पनि श्रेष्ठले आफ्नो विमति सार्वजनिक गर्दै आएका छन् ।

गत सोमबार आफ्नो निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले घुमाउरो शैलीमा पार्टीका नेता नारायणकाजी श्रेष्ठले पार्टी छोडेर गए हुन्छ भन्ने अभिव्यक्ति दिएपछि दुई नेताको सम्बन्धमा झनै चिसोपना आएको छ। नेता नारायणकाजी श्रेष्ठलाई मनाउन केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफै उनको निवास हात्तीवन गएका थिए ।

दुई नेताबीचको भेटवार्ताले चिसिएको सम्बन्धमा केही सुधार भएको भनिए पनि त्यो मत्थर भइसकेको देखिएको छैन । प्रचण्डसँग रुष्ट भएका नेता नारायणकाजी श्रेष्ठले पूर्व माओवादी नेताहरूसँग संवाद अघि बढाएपछि उनलाई मनाउन प्रचण्ड थप सक्रिय बनेका छन्। बिहीबार बिहान पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको हो ।

नेता नारायणकाजी श्रेष्ठ असन्तुष्ट भएपछि बुधबार साँझ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन पनि उनलाई मनाउन हात्तीवन पुगेर छलफल गरेका थिए। पार्टीको आठौं महाधिवेशनबाट पारित प्रस्तावमा एमसीसीलाई संशोधन गरेर मात्रै पारित गर्ने निर्णय गरिएको थियो ।

तर, प्रचण्डले एक्लौटी ढंगले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गराएको भन्दै श्रेष्ठ सहितका नेताहरू आक्रोशित बनेका छन् । अध्यक्ष प्रचण्डको अभिव्यक्तिपछि नेकपा माओवादी केन्द्रभित्रको विवाद थप पेचिलो बनेको हो ।