
काठमाडौं । रुस-युक्रेन युद्धको असर इन्धनमा परेको छ । दुई देशबीचको युद्धको कारण इन्धनको मुल्य बढ्दा त्यस्को प्रभाव नेपाल आयल निगममा परेको छ ।

बढेको कच्चा तेलको मूल्यका कारण मंगलबार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट ग्याँस, पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेर प्राप्त भएको निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले जानकारी दिएका छन् । डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर चार चार रुपैयाँ र खाना पाकाउने ग्याँसमा प्रति सिलिण्डर एक सय रुपैयाँले बढेर नयाँ मूल्य आएको उनले बताएका छन् ।



१५ दिन अगाडिको मूल्यअनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा निगमलाई प्रतिलिटर क्रमशः १६ रुपैयाँ ५९ पैसा र १२ रुपैयाँ ५८ पैसा घाटा रहेकोमा अब त्यस्तो घाटा बढेर क्रमशः लिटरमा २० रुपैयाँ ५२ पैसा र १६ रुपैयाँ ८ पैसा पुगेको भट्टराईको भनाइ छ ।

यस्तै खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर घाटा ५६५ रुपैयाँबाट बढेर ६६५ रुपैयाँ पुगेको पनि उनले दाबी गरेका छन् । मंगलबार प्राप्त नयाँ मूल्यपछि निगमको नियमित बिक्रीबाट आईसीको रकम भुक्तानी हुन नसक्ने अवस्था आएको निगमको भनाइ छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मार्च महिनामा निगमले दुई वटा किस्ता आईओसीलाई भुक्तानी गर्नुपर्छ । सो किस्ता तिर्न मूल्य नबढाए वा सरकारले पैसा नदिए नसकिने उनले बताएका छन् । आगामी ८ र २३ तारिखमा उक्त किस्ता तिर्नुपर्ने उनको भनाइ छ ।