
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सडकमा एमसीसीको विरोध गरिरहेका युवाहरुको कुनै दोष नभएको बताएका छन् । उनले बालुवाटारमा एउटा र बानेश्वरमा अर्को कुरा गर्ने नेताहरुको द्वैध चरित्र दोषी भएको बताएका हुन् ।

साथै महामन्त्री विश्वप्रकाश शर्माले एमसीसीको विरोध गर्नेलाई सरकार छाड्न चेतावनी दिएका छन् । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरूले एमसीसीविरुद्ध प्रदर्शन जारी राखेपछि महामन्त्री शर्माले सरकारमा रहँदा मर्यादा पालना गर्नुपर्ने बताएका हुन् । सामाजिक सञ्जालमा उनले सरकारमा रहँदाको मर्यादा पालना गर्न पनि आग्रह गरेका छन् ।



केपी ओली नेतृत्वको सरकारले संसदमा दर्ता गरेको एमसीसी प्रस्ताव कांग्रेस नेतृत्वको सरकारले अघि बढाउँदा ओलीको नैतिक जवाफदेहीता खोजिने पनि उनले उल्लेख गरेका छन् ।

उनले क्षणिक लोकप्रियता रोज्ने कि दीर्घकालीन लोकहित भनेर टुंगो गर्न आग्रह गरेका छन् । आवेग र उग्रताले रास्ट्रहरु समृद्ध बनेका छन् कि ‘जिम्मेवार रास्ट्रवाद’ ले ?, उनको प्रश्न छ ।