एमसीसीलाई लिएर देउवा र प्रचण्डबीच ‘वाट टु वान’ वार्ता सुरु

काठमाडौं । एमसीसीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल सुरू भएको छ ।

आज संसदीय दलको बैठक सकेर बालुवाटार पुगेका प्रचण्ड र देउवाबीच ‘वान टु वाट’ वार्ता चलिरहेको छ । बैठक बेहीबेर अगाडि सुरू भएको हो । संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले आजको संसद बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) टेबल नगर्न अनुरोध गर्नेबारे सांसदहरूलाई जानकारी गराएका थिए ।

बिज्ञापन

बैठकमा प्रचण्डले आज संसदमा एमसिसी टेबल नगर्न अनुरोध गर्ने तर जबरजस्ती टेबल भयो भने त्यसबाट पर्ने सबै असर व्यहोर्न तयार रहेको बताएका थिए । बैठकमा प्रचण्डले पहिला प्रतिपक्षी एमालेले गरिरहेको संसद अवरोध हट्नुपर्ने र एमसिसीमा सहमति हुनुपर्ने बताएका थिए ।

संसदीय दलको बैठकमा एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरेर प्रचण्ड बालुवाटार गएका थिए । गठबन्धनको सहमति बिना एमसिसीको विषयमा प्रधानमन्त्री अघि बढे गठबन्धन तोडेर सरकारबाट बाहिरिने निष्कर्षसमेत माओवादी केन्द्रले निकालेको थियो ।

माओवादी केन्द्रका नेता एवं संसदीय दलका प्रमुख सचेतक देव गुरूङले एकलौटी रूपमा एमसीसी अघि बढे गठबन्धन र सरकार छाड्ने जानकारी गराएका हुन् । जबरजस्ती एकलौटी गर्न खोजेमा गठबन्धन तोडिने र गठबन्धन तोडेर गएपछि सरकारमा रहने कुरा नहुने बताएका हुन् ।