
सर्लाही । सर्लाहीका इँट्टा व्यवसायीले इँट्टाको मूल्य बढाएका छन् । केही दिनअघिको बेमौसमी वर्षाले काँचो इँट्टामा ठूलो क्षति पुगेको भन्दै व्यवसायीले त्यसको भार उपभोक्तालाई बोकाएका हुन् ।

बर्षाले क्षति गरेपछि प्रतिइँट्टा २ रुपैयाँ मूल्य वृद्धि गरिएको सर्लाही इँट्टा उद्योग व्यवसायी संघका सचिव एवम् सासापुरमा इँट्टा भट्टाका सञ्चालक ईट्टा व्यवसायी भगवान मैनालीले बताए । उनका अनुसार तत्काल मूल्य वृद्धि नगरिए व्यवसायीहरुले घर खेत नै बेच्नुपर्ने अवस्था आउने भएकोले मूल्य वृद्धि गर्न व्यवसायी बाध्य भएका हुन् ।



उनले कोइलाबाट पकाइएको १ नम्बर इँट्टाको १४ रुपैयाँबाट बढाएर १६ रुपैयाँ पुर्याइएको र दाउराबाट पकाइएको इँट्टाको १२ रुपैयाँबाट १४ रुपैयाँ पुर्याइएको बताए । केहीदिनअघि २ दिन परेको बेमौसमी वर्षाले जिल्लामा करिव ३३ करोड रुपैयाँ मूल्य बराबरको काँचो इँटा नष्ट भएको व्यवसायीहरु बताएका छन् ।

व्यवसायीहरुका अनुसार त्यसबेला वर्षाले झण्डै १२ करोड वटा इँट्टा गलेर नष्ट भएको थियो । वर्षाले ठूलो परिमाणमा काँचो इँट्टा नष्ट गरेपछि जिल्लामा अहिले घरलगायत अन्य भौतिक संरचना निर्माणका लागि सहज रुपमा इँट्टा पाउन कठिन भएको छ ।
व्यवसायीहरुले वर्षाबाट जोगिएका केही काँचो इँट्टा नै बिक्री गरिरहेका छन् ।
‘यो समय इँटा उत्पादन गर्ने मुख्ययाम हो तर बेमौसमी वर्षा भएर काँचो इँट्टा नष्ट पारेपछि आगामी असार, साउनमा इँट्टाको अभाव अझ बढ्छ ।’, सर्लाही इँट्टा उद्योग व्यवसायी संघका अध्यक्ष मेथुर चौधरीले भने । उनले अहिले इँट्टा उत्पादन गरेर मौज्दात राख्न नपाउँदा असार, साउनमा इँट्टाको अभाव हुने बताए ।
वर्षाले नसोचेको क्षति बेहार्नुपर्दा सर्लाहीका इँट्टा व्यवसायीले केही दिनअघि जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै क्षतिपूर्तिको माग समेत गरेका थिए । जिल्लामा ९३ वटा इँटा उद्योग सञ्चालनमा रहेका छन् ।