११९ वर्ष पुरानो भक्तपुर अस्पतालमा आईसीयू सेवा सुरु

भक्तपुर ।  ११९ वर्ष पुरानो भक्तपुर अस्पतालमा पहिलो पटक बच्चाका लागि आईसीयू सेवा सुरु भएको छ । भोलि फागुन १ गतेदेखि यो सेवा सञ्चालनमा आउने भएको हो । यस अस्पतालमा वर्षौँदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बच्चाको आईसीयू नहुँदा आकस्मिक अवस्थामा अन्य अस्पतालमा आमा तथा बच्चालाई रेफर गर्नुपर्ने अवस्थाको अब अन्त्य हुने भएको छ ।

भक्तपुर अस्पतालको मेडिकल सुपिरन्टेण्डन्ट डा.सुमित्रा गौतमले अस्पतालमा पहिलो पटक बच्चाका लागि भेन्टिलेटरसहितको एनआईसीयू सुविधा सञ्चालनमा ल्याउन सफल भएको बताएकी छिन् ।

बिज्ञापन

भोलिदेखि भर्खर जन्मेका बच्चाका लागि १० शय्या र १८ वर्षभन्दा मुनिका बच्चाका लागि १० शय्या गरी बच्चाका लागि मात्रै भेन्टिलेटरसहितको २० शय्याको आईसीयू सञ्चालनमा आउने मेसु डा.गौतमले जानकारी दिएकी छिन् । त्यसका लागि आवश्यक सबै तयारी पूरा गरेर जनशक्ति समेत परिचालन गरिएको छ । तीन वर्ष अगाडिसम्म आईसीयू नै नभएको भक्तपुर अस्पतालमा मेसु डा। गौतम आएपछि भने अस्पतालको मुहार फेरिएको छ । अस्पतालमा विगत डेढवर्षदेखि १० वटामा भेन्टिलेटरसहितको १६ वटा आईसीयू सञ्चालनमा छ ।

मेसु डा। गौतमका अनुसार भेन्टिलेटरसहितको ६ शय्याको आईसीयू कोभिडका बिरामीका लागि प्रयोग भइरहेको छ भने भेन्टिलेटरसहितको १० शय्याको आईसीयू अरु बिरामीको लागि प्रयोग भइरहेको छ । फागुन १ गतेदेखि बच्चाको २० शय्याको आईसीयू सुरु भएसँगै भक्तपुर अस्पतालमा भेन्टिलेटरसहितको ३६ शय्याको आईसीयू सञ्चालन हुनेछ ।

नेपालमा कोरोनाको पहिलो लहर सुरु भएपछि भक्तपुर अस्पतालमा पहिलो पटक उनले ६ शय्याको आईसीयू सञ्चालनमा ल्याएर कोभिडका बिरामीको उपचार सुरु गरेकी थिईन् । अस्पतालले अक्सिजनसमेत उत्पादन सुरु गरेको छ । अस्पतालले सञ्चालनमा ल्याएको अक्सिजनको लिक्वड प्लान्टबाट दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन भइरहेको छ भने यहीँ फागुन २ गतेदेखि ग्यास अक्सिजन पनि उत्पादन सुरु गर्नेछ ।

मेसु डा। गौतमका अनुसार अहिले भक्तपुर अस्पतालले दैनिक ५० सिलिण्डर लिक्विड अक्सिजन उत्पादन गरिरहेको र फागुन २ गतेदेखि दैनिक १५० सिलिण्डर ग्यास अक्सिजन उत्पादन सुरु गरिने छ । फागुन २ गतेदेखि भक्तपुर अस्पतालमा लिक्विड र ग्यास गरेर २०० सिलिण्डर अक्सिजन उत्पादन हुने भन्दै अब भक्तपुरमा अक्सिजनको अभाव नहुने बताइन् । भक्तपुर अस्पतालको सबै वार्डमा अक्सिजन फाइप जडान गरी वितरण सुरु गरेसँगै सिलिण्डर घिसार्दै बेडमा लैजानु पर्ने समस्या पनि अन्त्य भएको छ ।

कोरोना भाइरस सङ्क्रमणको महामारीले अल्जाइमरको रोगी बढेपछि भक्तपुर अस्पतालले निःशुल्क अल्जाइमर क्लिनिक समेत सञ्चालनमा ल्याएको छ । अस्पतालले मनोरोग विशेषज्ञसहितको सेवा सञ्चालन गर्दै अल्जाइमर अर्थात बिर्सने रोगको उपचार सुरु गरेको हो । कोरोना महामारी र सङ्क्रमणले मानिसमा डर, त्रास बढेको, मनोबल घट्दै गएको, चिन्ता बढ्दै गएको र स-साना कुरामा पनि त्रासका कारण चिन्ता लिने क्रम मानिसमा बढ्दै गएपछि यस अस्पतालले अल्जाइमरको सेवा समेत सञ्चालनमा ल्याएको छ ।

अस्पतालले सेवा विस्तार गर्नुको साथै बेरुजु शून्यमा झारेको छ । मेसु डा.गौतम आएपछि भक्तपुर अस्पतालमा भएको सुधारकै कारण अस्पताल सुदृढीकरण मूल्याङ्कन ३८ बाट ८२ पुर्याउन सफल भएपछि वाग्मती प्रदेश सरकारबाट यसवर्ष उत्कृष्ट अस्पतालको पुरस्कार समेत पाउन सफल भएको छ ।

तीन वर्ष अगाडिसम्म रेफर सेन्टरको रुपमा परिचित यस अस्पतालमा ८० जनादेखि १५० जनासम्म बिरामी आउने गरेकामा अस्पतालको सेवामा सुधार भएपछि दैनिक ७५० देखि ८०० बिरामी आउने गरेको उनले जानकारी दिएकी छिन् । अस्पतालको बिरामीको बढ्दो चाप र सेवा विस्तारका कारण भवन अभाव भइरहेको अवस्थामा साझा औषधि लिमिटेडले ओगटेको भवन नछाड्दा अस्पतालले नयाँ भवन समेत बनाउन पाएको छैन । साझालाई भवन छाड्न पटक पटक आग्रह गर्दा पनि अटेर गरेको अस्पतालको भनाइ छ ।