
चितवन । गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका छन्।

न्यौपानेलाई विसं २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र रु एक लाख जरिवाना तोकेको थियो । उनलाई यही माघ ७ गते पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो ।



विभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका फुटुङ्गबाट पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पक्राउ परेका न्यौपाने पक्राउ परेसँगै उनलाई कोभिड–१९ सङ्क्रमण देखिएको थियो ।

कोभिड सङ्क्रमण नेगेटिभ आएसँगै उनलाई कारागार कार्यालय भरतपुर पठाइएको उनले जानकारी दिए ।
विसं २०५५ कात्तिक २८ गते निकुञ्जको अमृते पोस्टबाट करिब एक दशमलव पाँच किलोमिटर पूर्व खाडलमा पारी गैँडा मारी खाग तस्कर गरेको अभियोग उनमा लागेको थियो । सो घटनामा १२ जना आरोपित भएका थिए ।