
प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाको नेतृत्वमा आएको अनुगमन टोलीले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालको स्थलगत अनुगमन गरेको छ ।

प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका वरिष्ठ नर्सिङ प्रशासक सावित्रीकुमारी पौडेल, भक्तपुर अस्पतालका नर्सिङ अधिकृत रोशनी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका रेडियोलोजिष्ट डा.रुपेन्द्र खड्की, ल्याब टेक्निसियन इन्चार्ज सुशिल आचार्यको टोलीले अस्पतालको अनुगमन गरेको हो ।



भक्तपुर नगरपालिकाका प्रमुख एवम् ख्वप अस्पताल सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले अनुगमन टोलीलाई ख्वप अस्पतालबाट प्रवाहित सेवा तथा सुविधा र अस्पतालको अवस्थाबारे विस्तृतमा जानकारी गराए ।

नगरप्रमुख प्रजापतिले जनताको माग र आवश्यकताअनुसार नगरपालिकाले सुविधासम्पन्न ख्वप अस्पताल सञ्चालनमा ल्याएको जानकारी गराउँदै अस्पताललाई सय शय्या क्षमतामा सञ्चालनको लागि आवश्यक सहयोग गरिदिन आग्रह गरेका छन् । बिरामीलाई २४ सै घण्टा इमर्जेन्सी, ल्याब, एक्स–रे र फार्मेसी, स्त्री रोग, जनरल सर्जरी, बाल रोग, हाडजोर्नीलगायतका सेवाहरू सञ्चालनमा रहेको उनले अनुगमन टोलीलाई जानकारी गराएका छन् ।
अनुगमनका क्रममा निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा। झाले ख्वप अस्पतालको भौतिक पूर्वाधार नेपाल सरकारले तोकेको मापदण्डअनुरुप नै भइरहेको पाइएको बताए ।
उनले ख्वप अस्पतालको भौतिक संरचना अपाङ्गतामैत्री हुनुपर्ने र जनतालाई सहज रुपमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । टोलीले निर्माणाधीन ख्वप अस्पताल, ब्रम्हायणीस्थित ख्वप अस्पताल कोभिड युनिट, छाती पुनःस्थापना केन्द्रको समेत स्थलगत निरीक्षण गरेको थियो ।