
काठमाडाैँ : सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रको बैठक अहिले बसिरहेको छ । बिहान नौ बजेदेखि जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण, राष्ट्रिय सभा निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए।

बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभामा गर्दै आएको अवरोध अन्त्यका विषयमा पनि छलफल हुने बताइएको छ। त्यसै सन्दर्भमा नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । पौडेल नेतृत्वको समितिमा सत्तारुढ पाँच दलका शीर्ष नेताहरू सदस्य छन् ।



काँग्रेसबाट नेता पौडेल र कृष्णप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल छन् ।
