क्यानले कारबाही फिर्ता गरेसँगै सबै खेलाडी बन्द प्रशिक्षणमा सहभागी हुने

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) र कारबाहीमा परेका खेलाडीहरूबीच सहमति भएसँगै सोमबार हुने बन्द प्रशिक्षणमा सबै खेलाडी सहभागी हुने भएका छन्। क्यान र कारबाहीमा परेका खेलाडीहरूबीच आइतबार सहमति भएको हो।

क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार अहिले बिहान १० बजे सुरु हुने बन्द प्रशिक्षणमा सबै खेलाडी सहभागी हुने भएका हुन् ।

बिज्ञापन

जसअनुसार पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीविरुद्ध सेन्ट्रल कन्ट्रयाक्टमा लगाइएको ६ महिने प्रतिबन्ध पनि फुकुवा भएको छ। यसअघि क्यानले अनुशासन उलंघन गरेको आरोपमा तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीविरुद्ध कारबाही गरेको थियो।

अनुशासन उल्लंघन गरेको पाइएको भन्दै क्यानको बोर्ड बैठकले ज्ञानेन्द्र र दीपेन्द्रलाई कप्तान र उपकप्तान पदबाट हटाएको थियो।

उनीहरूसँगै सोमपाल र कमललाई ६ महिनाको केन्द्रीय सम्झौतामा नराख्ने निर्णय गरेको थियो। यो विवाद बढ्दै जाँदा यही वर्ष ९सन् २०२२० मा अस्ट्रलियामा हुने टी–२० विश्वकपका लागि आगामी महिना (फेब्रुअरी) ओमानमा हुने ग्लोबल छनोटको बन्द प्रशिक्षणका लागि बोलाइएकामध्ये १३ खेलाडीले रिपोर्टिङ गरेका थिएनन्।

बन्द प्रशिक्षणमा बोलाइएकामध्ये आधा खेलाडी सम्पर्कमा नआएपछि यो प्रकरण मिलाउन क्यानलाई दबाब परेको थियो। यहीबीच आइतबार दुई पक्षबीच सहमति भएको हो। यसोसँगै बन्द प्रशिक्षण पनि अघि बढ्ने भएको हो। गत मंगलबार नवनियुक्त मुख्य प्रशिक्षक पुबुदु दासानायके आएपछि उनको पहलमा दुई पक्षबीचको विवाद मिलाउन मिलेको हो ।